
बर्दिवास - प्लास्टिक प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व“ भन्ने नारासहित बर्दिवास नगरपालिकामा यस वर्षको विश्व वातावरण दिवस विशेष कार्यक्रममार्फत मनाइएको छ। बिहीबार नगरपालिकाको आयोजनामा र “समृद्धिका लागि बन“ नामक संस्थाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, नगरकर्मी, सञ्चारकर्मीहरू, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा ५० थान विभिन्न जातका विरुवा रोपिए, जसले नगर क्षेत्रलाई हरियाली बनाउन सघाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले प्लास्टिकजन्य फोहोरलाई हालको वातावरणीय संकटका रूपमा चित्रण गरे। उनले प्लास्टिक न्यूनीकरणका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “चुरे क्षेत्रमा भइरहेको बन विनाशको सिधा असर बर्दिवासमा परिरहेको छ। त्यसैले वृक्षारोपण मात्र होइन, यसको संरक्षणमा पनि गम्भीर हुन आवश्यक छ।”
उनले बृक्षारोपणको माध्यमबाट पानीका मुहानहरू जोगाउन सकिने विश्वास व्यक्त गरे। “नगरका विभिन्न स्थानमा वृक्षारोपण गरेर हामीले सुक्दै गएका मुहानहरूलाई पुनर्जीवन दिन सक्नेछौं,”उनले बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले वातावरण र प्रकृतिको संरक्षणलाई मानव धर्मसँग जोड्दै बोले। उनले भने, “प्रकृति र मानव जीवन एक–अर्कासँग गहिरो सम्बन्धमा बाँधिएको छ। यसको सन्तुलन बिग्रनु जीवनलाई नै संकटमा पार्ने संकेत हो। त्यसैले हामीले हरियाली प्रवद्र्धन गर्नु आवश्यक छ।”
उनका अनुसार वृक्षारोपण प्रकृतिप्रति न्याय गर्ने मार्ग हो, जुन हरेक नागरिकको कर्तव्य बन्नुपर्छ।
कार्यक्रममा समृद्धिका लागि बनका प्रतिनिधि निर्मल पौडेलले वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाउँदै प्लास्टिक प्रयोग घटाउने विकल्पहरू अवलम्बन गर्न आग्रह गरे। उनले विद्यालयदेखि समुदायस्तरसम्म वातावरणीय शिक्षाका कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकताका रूपमा औँल्याए।
नगरपालिकाका कर्मचारीहरूले कार्यक्रममार्फत हरित नगर बनाउने अठोट दोहोर्याएका छन्। नगर परिसरलाई सफा र हराभरा राख्ने अभियानलाई निरन्तरता दिइने उनीहरूको प्रतिबद्धता छ।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ। यस वर्षको नारा प्लास्टिक प्रदूषण न्यूनीकरणमा केन्द्रित छ, जसले हरेक व्यक्तिलाई आफ्नो दैनिक जीवनमा प्लास्टिक प्रयोग घटाउन उत्प्रेरित गर्ने उद्देश्य राखेको छ।
बर्दिवास नगरपालिकाले भविष्यमा समेत वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै प्लास्टिकजन्य फोहोर नियन्त्रणमा विशेष पहल गर्ने योजना बनाएको छ।