काठमाडौं – जिल्ला अदालत काठमाडौंले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् । प्रसाईलाई भने क्यान्सरको उपचारका लागि आवश्यक प्रबन्ध गर्न समेत आदेश भएको छ ।



अदालतले अरू ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै तीनकुने घटनामा राप्रपाका सांसद डाक्टर धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने अदालतमा उपस्थित नै नभएको भन्दै फरार प्रतिवादीको रुपमा राखिएको छ । उनीहरुलाई फरार प्रतिवादीको रुपमा पक्राउ पूर्जी जारी हुने भएको छ ।
न्यायाधीश धु्रवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश आएको हो । चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
हिंसात्मक आन्दोलनको विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।




