
रौतहट - यहाँको राजपुर नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ । राजपुर नगरपालिका–३ डमार पोखरियाका शेख सफुलाकी ३० वर्षीया श्रीमती गुलनाज खातुनको बुधबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए । प्रहरीका अनुसार खातुन आफू सुत्ने कोठामा साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल गौर लगिएकामा ईसीजी जाँच गर्दा चिकित्सकले मृत घोषित गरेका हुन् । उनी ८ महिनाकी गर्भवती थिइन् । खातुनका तीन छोरा र एक छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।