
महोत्तरी- ‘सुरक्षित मातृत्व, सशक्त समाज’ भन्ने नारालाई व्यवहारमा उतार्ने कोशिसका रूपमा, शुभस्वस्तिक अस्पताल बर्दिवासमा ‘आमा सुरक्षा कार्यक्रमको’ सुरुआत गरिएको छ। शनिबार शुभस्वस्तिक अस्पताल बर्दिवासमा आयोजित एक विशेष समारोहमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले यस कार्यक्रमको औपचारिक उद्घाटन गरे। कार्यक्रममा नगरप्रमुख क्षेत्रीले भने, “नेपालमा अझै पनि मातृ मृत्युदर एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो। यसको समाधानका लागि यस्ता सेवा कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण छन्।“नागरीकको सामाजिक न्याय र समान स्वास्थ्य पहुँच सुनिश्चित गर्न हामी यस्ता कार्यक्रमहरूमा सधैं साथ दिनेछौं। मातृत्व केवल महिलाको जिम्मेवारी हैन, यो समाजको साझा जिम्मेवारी हो।“
उनको यो भनाइले स्थानीय सरकार मातृत्व स्वास्थ्यप्रति कति गम्भीर छ भन्ने संकेत गर्छ। बर्दिवास नगरपालिकाले मातृत्व, बालस्वास्थ्य, पोषण र महिला सशक्तिकरणलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लु,एच,ओ) का अनुसार, विश्वभर दैनिक झण्डै ८ सय महिलाहरू गर्भावस्था वा सुत्केरीका जटिलताका कारण ज्यान गुमाउँछन्। नेपाल जस्तो मुलुकमा, अझै पनि धेरै महिलाहरूले गर्भावस्थामा गुणस्तरीय सेवा पाउन नसक्दा ज्यान गुमाउने अवस्था विद्यमान छ। यही पृष्ठभूमिमा शुभस्वस्तिक अस्पतालले सञ्चालनमा ल्याएको ‘आमा सुरक्षा कार्यक्रम’ एक उल्लेखनीय प्रयास मानिएको छ।
यस कार्यक्रमले गर्भवती महिला र नवप्रसूता आमाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै आर्थिक भार कम गर्ने उद्देश्य राखेको छ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत महिलाहरूलाई प्रसूति सेवा लिँदा लाग्ने डेलिभरी चार्ज, बेड चार्ज लगायतका सम्पूर्ण सेवा शुल्कहरू निःशुल्क गरिएको छ। यद्यपि, सर्जरीको खण्डमा प्रयोग हुने केही विशेष सामग्रीहरू—जस्तै अपरेशन ब्लेड, क्याथेटर, सिलाउने धागो, र अस्पताल बसाइका क्रममा प्रयोग हुने केही औषधिहरू बिरामी पक्षले आफूले जोहो गर्नुपर्नेछ।
अझ विशेष कुरा के छ भने, महिलालाई अस्पतालसम्म आउनुपर्ने सवारी खर्च वापत नगद रकम पनि प्रदान गरिन्छ। यो रकम सेवा लिने महिलाको बासस्थान अनुसार फरक–फरक तय गरिएको छ। यसले ग्रामीण क्षेत्रका महिलालाई समेत सेवा केन्द्रसम्म ल्याउन थप उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।
“हामी न्युन आय भका परिवारका हौं। पहिले सुत्केरी हुन धरै पैसा लाग्छ भनेर धेरै चिन्ता लाग्थ्यो। महोत्तरीको गौशाला नगरपालिका–१ कि २० वर्षिय पुनिता पासवानले भनिन, अहिले शुभस्वस्तिक अस्पतालमा निःशुल्क डेलिभरी सेवा पाइने सुनेर आएँ। यहाँ आएपछि मलाई सबै कुरा सहज भयो। डाक्टर, नर्स सबैले राम्रो हेरविचार गर्नुभयो। मलाई कुनै सास्ती भएन।“
पुनिता जस्तै धनुषाको छिरेश्वर नगरपालिका–५ कि ३० वर्षकी पूजा राई, भन्छिन,यो कार्यक्रम हाम्रो लागि ठूलो राहत बन्यो। म पहिले निजी अस्पताल जान सक्दिन थिएँ किनकि खर्च धेरै हुने डर लाग्थ्यो। अहिले भने सेवा निःशुल्क पाउनु मात्र होइन, सवारी खर्चसमेत पाउनु हामी जस्ता महिलाका लागि ठुलो सहयोग हो।“

‘आमा सुरक्षा कार्यक्रम’ लागू भएपछि, बर्दिवास तथा आसपास क्षेत्रका गरिब तथा पिछडिएका समुदायका महिलाहरूले अस्पतालमा सुरक्षित तरिकाले बच्चा जन्माउन पाउनेछन्। यसले अनावश्यक घरेलु सुत्केरी प्रथा कम गर्न सहयोग पु¥याउनेछ भने मातृ र नवजात शिशु मृत्युदर घटाउने प्रत्यक्ष सम्भावना पनि बढेको छ।
शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीका अनुसार, “हामी यस कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै लैजानेछौं। आउने दिनमा सस्तो सुलभ र अझ गुणस्तरीय सेवा सुनिश्चित गर्नेछौं।”
’आमा सुरक्षा कार्यक्रम’ बर्दिवासका महिलाहरूका लागि मात्र होइन, सम्पूर्ण मधेश प्रदेश का लागि एक रोल मोडेल बन्न सक्छ। यस्तो सेवामूलक कदमले महिला सशक्तीकरण, स्वास्थ्य पहुँच र सामाजिक न्यायको यात्रालाई तिब्रता दिनेछ।
यस किसिमको कार्यक्रमको कर्यान्वयन शब्दमा मात्रै होइन, व्यवहारमै महिलाहरूले महसुस गर्न सक्ने ब्यवस्था शुभस्वस्तिक अस्पतालले गरेपछी समाजको मूल परिवर्तनको आधार बनेको छ।जस्का कारण ‘सुरक्षित आमाहरु, सशक्त पुस्ता’ को अवधारणा सहित बर्दिवासमा सकारात्मक क्रान्तिको संकेत बनिरहेको छ।