
जनकपुरधाम-नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा स्वयं मुख्यमन्त्रीको प्रत्यक्ष भूमिका रहेको बताउँदै जनमत पार्टीले अहिले सार्वजनिक रूपमा दोषारोपण गर्नु गलत भएको जिकिर गरेका छन् ।
नेता यादवले भने, ‘मुख्यमन्त्री आफैँ मन्त्रालय–मन्त्रालयमा गएर योजना राख्न निर्देशन दिएका थिए । उनले नै बजेटको इन्ट्री गराएका हुन् । अहिले आएर आफूले माग गरेका योजना काटिएको भन्ने तर्क भ्रामक र झुटो हो ।’
उनले बजेटमा कांग्रेसको भागमा परेका मन्त्रालयहरूबाट कुनै योजना अर्थ मन्त्रालयमा नपठाइएको स्पष्ट पारे । ‘अर्थ मन्त्रालय हाम्रो जिम्मामा भए पनि एक गोटा योजना पनि हामीले हाल्न पाएका छैनौँ,’ यादवले भने ।
मुख्यमन्त्री सतिश कुमार सिंह जनमत पार्टीका नेता हुन् । उनी अहिले पार्टी अध्यक्ष डा. सीके राउतसहित शीर्ष नेतृत्व बजेटबाट आफूहरूलाई बेवास्ता गरिएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । तर, नेता यादवले त्यसलाई ‘राजनीतिक नौटंकी’ को संज्ञा दिँदै जनमत पार्टीका शीर्ष नेताहरू झुटो बोलिरहेको टिप्पणी गरे ।
‘सरकारको नेतृत्व गर्ने पार्टी आफैँ बजेट निर्माणमा सक्रिय रहेर अहिले सत्तारूढ दलहरूलाई दोष दिनु दुर्भाग्यपूर्ण हो,’ यादवले थपे ।