
महोत्तरी - जसलाई धेरैले सधैं पछाडि पारिएको, उपेक्षित गरिएको र राज्यको सेवाबाट बञ्चित ठाने, त्यही मुसहर समुदायका पाँच परिवारले जीवनमा पहिलोपटक आत्मसम्मानसहित एक लाख रुपैयाँ बराबरको जीवन बिमा भुक्तानी पाएका छन्। यो घटना केवल आर्थिक राहत मात्र होइन, सामाजिक परिवर्तनको संकेत पनि हो, जसको केन्द्रमा छ — बर्दिवास नगरपालिका र त्यहाँका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री।
बर्दिवास नगरपालिका–१२ र १४ का रामरतीदेबी सदा, परीक्षण सदा, गुजरु सदा, महेश सदा र फेकना सदा — ती सबैको मृत्यु रोग,सर्पदंशका कारण भयो। ती परिवारहरूका श्रीमान, श्रीमती वा छोराले मृतकको नाममा गरिएको “सामूहिक म्यादी लघु जीवन बिमा” योजनाअन्तर्गत १ लाख रुपैयाँको चेक प्राप्त गरे।
बर्दिवास नगरपालिकाले २०८१ सालको वैशाखमा वडा नं १०, १२ र १४ का १८ देखि ६९ वर्ष उमेर समूहका कुल ४ सय ५० जना मुसहर समुदायका सदस्यको नाममा ‘सामूहिक म्यादी लघु जीवन बिमा’ गराएको थियो। प्रति व्यक्ति एक लाखको तिनबर्षे जीवन बिमा गरिएको यो योजना लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्समार्फत लागू गरिएको हो।
इन्स्योरेन्स कम्पनीका महोत्तरी प्रमुख रवीन्द्र मिश्रले नै मुसहर बस्तीमै पुगेर मृतकका परिवारलाई चेक हस्तान्तरण गरे। उनी भन्छन्, “बिमा रकम मृतकका परिवारको खातामा सीधै जम्मा गरिएको छ। बर्दिवासका मुसहर समुदाय देशमै पहिलो पटक यस प्रकारको बिमा रकम पाउने बनाइएको छ।”
मृतक रामरतीदेबी सदाका श्रीमान् प्रकाश सदा, परीक्षण सदाका छोरा सुकना सदा, गुजरु सदाका छोरा सम्भु कुमार सदा, महेश सदाका श्रीमती चन्द्रकला कुमारी सदा, र फेकना सदाका श्रीमती सानु सदा — सबैले चेक बुझ्दा आँखाभरि आँसु र ओठमा धन्यवाद देखिन्थ्यो।
प्रकाश सदा भन्छन्, “हामीले सोचेका थिएनौं, जीवन बीमाबाट यस्तो राहत पाइन्छ भनेर। यो नगरपालिकाको ठूलो गुन हो, जसलाई कहिल्यै बिर्सन सकिँदैन।”
चन्द्रकला कुमारी सदा, जसले आफ्ना श्रीमानको मृत्युपछि जीवन चलाउने जिम्मेवारी एक्लै भोगिरहेकी थिइन्, भन्छिन्, “बिमा रकमले मलाई कम्तीमा दुई–चार महिना त राहत मिल्ने भयो।”
बिमा भनेको सदाको लागि जीवनको ग्यारेन्टी होइन, तर आशाको भरोसा हो ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री भन्छन्, “वर्षौंदेखि राज्यको सेवाबाट टाढा रहेको मुसहर समुदायलाई सहजीकरण गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो। जीवन बिमा योजनाबाट कम्तीमा मृत्यु पश्चातको दुःखमा केही आर्थिक राहत पुगेस भन्ने हाम्रो आशय थियो। अहिले त्यसको परिणाम देखियो।”
उनका अनुसार, मुसहर समुदायको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणको लागि नगरपालिकाले एकीकृत योजना बनाएको छ। बीमा योजना त यसको सानो हिस्सा मात्र हो।
बर्दिवास नगरपालिकाले मुसहर समुदायका सदस्यहरूको परिचय विवरण संकलन गरेर उनीहरूलाई स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र आत्मनिर्भर बनाउने योजना अघि सारेको छ।
नगरप्रमुख क्षेत्री भन्छन्, “योजना भनेको केवल बीमा होइन। हामी चाहन्छौं, यी समुदायले आफूलाई ‘राज्यको हिस्सा’ हो भन्ने महसुस गरोस्। त्यसका लागि शैक्षिक छात्रवृत्ति, रोजगारमूलक तालिम, महिला सशक्तिकरण कार्यक्रम, बालबालिका पोषण योजना लगायतका कार्यक्रम कार्यान्वयनमा ल्याईने छन्।”
बिमा रकम बैंक खातामार्फत रकम जम्मा गरिएको हुँदा कुनै बिचौलिया, ठग वा लालचबाजहरूबाट उनीहरू जोगिएका छन्।
स्थानीय एक दलित अधिकारकर्मी भन्छन्, “जीवन बिमा मुसहर समुदायको लागि केवल पैसाको कुरा होइन। यो आत्मसम्मानको कुरा हो। राज्यले हामीलाई देख्यो भन्ने अनुभूति गरायो।”
उनका अनुसार, यस्तो पहलकदमीले समुदायमा नयाँ विश्वास सिर्जना भएको छ। “अब हामी पनि देशका अन्य नागरिकझैं बिमा गर्न सक्छौं, लाभ लिन सक्छौं भन्ने अनुभूति भयो,” उनी भन्छन्।
नेपालको सीमान्तकृत समुदायहरूमा पर्छ मुसहर। परम्परागत रूपमा बनबुट्यानमा काम गर्ने, हेला र विभेद भोग्दै आएको यो समुदाय शिक्षाबाट टाढा र अभावको चक्रमा फँसेको छ। तर पछिल्ला केही वर्षमा बर्दिवास लगायतका स्थानमा स्थानीय सरकारको पहलमा उनीहरूको अवस्था सुधारको दिशामा लागेको छ।
बिमा भुक्तानीले मुसहर समुदायमा आत्मबलको संचार मात्र गरेन, राज्यसँगको सम्बन्धमा विश्वासको नयाँ पुल बनायो। अब तिनीहरूलाई पनि लाग्न थालेको छ,“हामी पनि नागरिक हौं, र हाम्रो जीवनको पनि मूल्य छ।”
यो पाँच मुसहर परिवारको बिमा भुक्तानीको घटना केवल पाँचवटा चेक वितरणको कथा होइन — यो नेपालको सामाजिक न्याय यात्राको एउटा दस्तावेज हो। यस्ले सीमान्तकृत समुदायलाई समेट्ने यस्तो प्रयासले देखाएको छ कि, योजनाहरू यदि उद्देश्यमा स्पष्ट भएर, इमानदारीपूर्वक कार्यान्वयन गरिए भने तल्लो तहसम्मको जनताको जीवन बदल्न सकिन्छ।
बर्दिवास नगरपालिकाले मुसहर समुदायको जीवनमा रोपेको बीमाको यो बिरुवा अब भविष्यमा सम्मान, अवसर र समावेशीताको घनावन बनोस् भन्ने अपेक्षा यतिखेर सबैतिर सुनिन थालिएको छ।