
महोत्तरी - बर्दिबासमा ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको घटनामा संलगन रहेको आरोप लागि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार श्रीमान् र श्रीमतीलाई प्रहरीले ४ वर्ष ७ महिनापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीकाप्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
२०७७ मंसिर ०७ गते बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलावसा खातुनलाई बर्दिवास नगरपालिका–१४ का २६ वर्षीय अरुणकुमार साहले ललाइफकाइ आफ्नो घर लगी जबर्जस्ती करणी गरी हत्या गरेका थिए ।घटना लगत्तै अरुणलाई प्रहरीले नियन्त्रणमा लिएर अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा दर्ता गराएको थियो । हत्यामा संलग्न अरुणका बुबा ६० वर्षीय राजकिशोर साह र ५१ वर्षीया आमा शुशिला देवी फरार थिए ।
भारतमा लुकेर बस्दै आएका र नेपालमा आफन्तलाई भेट्न आएको अवसरमा फरार दुवै जनालाई नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक शर्माले बताए ।भारततर्फ बस्ने गरेको र उनीहरु आफन्तलाई भेट्न भारतीय सीमा जलेश्वर –१२ नैन्ही आएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार श्रीमान्–श्रीमतीलाई नियन्त्रणमा लिएको शर्माले बताए ।
बालिकाको करणीपछि हत्या गरी बोराभित्र राखी झाडीमा लुकाउन अरुणलाई आमा र बुबाले सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।घटनालगत्तै पक्राउ परेका अरुणलाई ०७७ पुस ५ गते पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको महोतरी जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले जन्मकैदको सजाय गरेको छ ।