
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामस्थित दुई सुधार केन्द्रको अनुगमन गर्दा गम्भीर दुरावस्था देखिएको छ ।
सोमबार साँझ जनकपुरधाम–८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसनको सुधार केन्द्रमा अनुगमन गर्न पुगेका मुख्यमन्त्री सिंहले दुबै संस्थामा निर्धारित क्षमताभन्दा बढी व्यक्ति राखिएको, पारदर्शिता नभएको र आधारभूत सुविधा अभाव देखिएको बताएका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार नयाँ मुस्कान सुधार केन्द्रलाई ७५ जनासम्म राख्ने स्वीकृति दिइए पनि त्यहाँ १०५ जना राखिएको भेटिएको छ । कोठा अत्यधिक भीडभाड भएको, सुत्ने–बस्ने स्थान अस्वस्थकर रहेको र सेवा शुल्कका विषयमा समेत पारदर्शिता नदेखिएको उनले बताए ।
किशोरी फाउन्डेसनको सुधार केन्द्रमा पनि उस्तै अवस्था रहेको भन्दै मुख्यमन्त्री सिंहले एकै कोठामा थुपारेर राखिएको र गुणस्तरीय खाना नदिइएको गुनासो आएको उल्लेख गरे । उनले सुधार केन्द्रका सञ्चालकलाई तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिए ।
‘सुधार केन्द्र यातनागृहजस्तो नभई सभ्य नागरिक उत्पादन गर्ने थलो हुनुपर्छ,’ मुख्यमन्त्री सिंहले भने, ‘सरकारी मापदण्ड अनुसार सुविधा पुर्याउन सञ्चालकहरूलाई कडा निर्देशन दिइएको छ ।’
मुख्यमन्त्रीले सुधार केन्द्रको शारीरिक संरचना, सेवा सुविधा, सरसफाइ र जीवनस्तर सुधार गर्न निर्देशन दिएका छन् । उनले आगामी दिनमा समेत अनुगमनलाई नियमित बनाउँदै सुधार केन्द्रको प्रभावकारिता सुनिश्चित गरिने बताए ।
सुधार केन्द्रमा रहेका बालबालिका तथा किशोरीहरू भीडभाड, अस्वस्थ वातावरण र आधारभूत सुविधाको अभावका कारण मानसिक र शारीरिक तनावमा रहेका छन् ।