प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सिँचाइको व्यवस्था नहुँदा आकाशेपानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।



सांसद यादवले तराई मधेस अन्नको भण्डार भएको उल्लेख गर्दै उनले स्यालो ट्युबेल, पम्पिङ सेट, सिँचाइका मर्मतसम्भार, नदी नाला र बाँध बाध्ने व्यवस्थाका लागि आग्रह गरे।
सांसद यादवले तराईका कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध नहँुदा कृषि उत्पादकत्व र उत्पादनमा असर गरिरहेको भन्दै ध्यानाकर्षण गराए। “असार महिना सकिनलाग्दासमेत तराई मधेसमा २५ प्रतिशतमात्र रोपाइँ भएको छ। सिँचाइमा ध्यान नदिए अन्नको हाहाकार हुनसक्छ”, उनले भने, “खानेपानीको पनि धेरै समस्या छ। दुई सय ५० फिटसम्म गहिराइबाट पानी तान्नुपर्ने अवस्था छ। कतिपय ठाउँमा चार सय ५० फिटसम्म खन्दा पनि पानी आउन छाडेको छ।”
विशेष समयमा जनमत पाटीका सांसद अब्दुल खांनले नेपालगञ्ज जमुनाह नाका, रुपैडिहामा आवातआवतमा सहज बनाउन आग्रह गरे। “सिमामा भारतीय शसस्त्र प्रहरी बल (एसएसबी) ले नेपालीलाई घन्टौँसम्म उभ्याउने काम भएको छ। घरेलु प्रयोगका लागि सामान ल्याउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सामान जफत भइरहेको छ”, सांसद खानले भने।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले कृषकलाई समयमा सिँचाइ र मल उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चोभार गल्छीलाई मास्न नहुने र साविकबमोजिम नदी चौडा गर्न सुझाब प्रस्तुत गरे। उनले चिकित्सकको आन्दोलनबारे ध्यानार्कषण गराउँदै कृषकलाई मल उपलब्ध गराउनुका साथै डेङ्गी नियन्त्रणका लागि सचेत गराए।
आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका सिपाहीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाउनुभयो। उनले यसबारे संसदीय छानबिन गर्नसमेत माग गरे।
“सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीलाई घरेलु कामदारमा लगाइएको छ। देश र जनताको सेवा सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा प्रवेश गरेकाहरूलाई नेता र उच्च ओहदाका प्रहरीकै घरमा काम गर्न लगाइएको छ”, उनले भने, “गृहमन्त्रीलाई सोध्न चाहन्छु, तपाईहरूको कमाण्डमा सुरक्षा निकाय छ कि छैनन् ? कानुनअनुसार सरकार चल्छ भने यो किन भइरहेको छ?”
विशेष समयमा सांसद योगेन्द्र मण्डलले रासायनिक मलको वितरणबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले वीरगञ्जको भन्सार र तातोपानी भन्सारमा मल खेर गएको भन्दै त्यसबारे छानबिन गर्न माग गरे।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी९एमाले०का सांसद दामोदर पौडेल वैरागीले प्रदेश र स्थानीय सरकारले फेवाताल क्षेत्राधिकारसम्बन्धी विवादबारे ध्यानार्कषण गराए। उनले पानीको क्षेत्र, हरियाली र सिमसार क्षेत्र कति हो भन्ने यकिन नगरीकन पिल्लर गाड्ने काम गर्न नहुने बताए। सांसद पौडेलले विकास निर्माण आयोजनाका काम समयमा सुरु नहुने र भए पनि तोकिएको समयमा सम्पन्न नहुने भन्दै ध्यानार्कषण गराए।




