ममता बिश्वकर्मा – सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–७ निवासी ६१ वर्षीय दसनलाल मण्डल राष्ट्रिय हरवा-चरवा अधिकार मञ्चका अध्यक्ष हुन्। कृषि बन्धुवा श्रमिक प्रणाली अन्त्यका लागि निरन्तर संघर्षरत उहाँ आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित सामाजिक अभियन्ता र नेतृत्वकर्ता मानिनुहुन्छ।
दसनलाल मण्डलको जीवन प्रारम्भदेखि नै शोषण र अन्यायसँग जुध्दै बित्यो। उहाँका आमाबुबा पुस्तौंदेखि हरवा-चरवा प्रणालीमा बाँधिएका थिए—ऋणमा फसाइएका, कानुनी अधिकार र सुरक्षाविनै दिनरात श्रम गर्न बाध्य। शिक्षाको कल्पना पनि गर्न नसक्ने अवस्था थियो। किशोरावस्थामै उहाँले आफ्नै गाउँमा यस्तो शोषण झेलिरहेका अन्य परिवारहरूको पीडामा चासो राख्न थाले र सामाजिक प्रश्नहरू उठाउँदै परिवर्तनको यात्रामा अग्रसर हुनुभयो।
बिस्तारै उहाँ सामाजिक आन्दोलनहरूमा जोडिनुभयो। राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको सञ्जाल सुदृढीकरण कार्यक्रममा सहभागी भएर उहाँको नेतृत्व क्षमता, आन्दोलन निर्माण, वकालत र सामूहिक बार्गेनिङ क्षमतामा उल्लेखनीय विकास भयो। सन् २०१८ देखि २०२० सम्मको सहभागीता पश्चात उहाँले २०२१ अप्रिलदेखि २०२५ डिसेम्बरसम्म फ्रिडम फन्डको सहयोगमा सञ्चालित कृषि बन्धुवा श्रमिक अन्त्य कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
उहाँको नेतृत्वमा मधेश प्रदेशका आठवटै जिल्लाहरू—सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा—मा हरवा-चरवा सञ्जाल विस्तार भएको छ। हालसम्म उहाँको नेतृत्वमा स्थानीय, जिल्ला र राष्ट्रिय तहमा गरी ५१ वटा सञ्जाल गठन भइसकेका छन्।
यस्तै योगदानका आधारमा, उहाँ राष्ट्रिय हरवा-चरवा मञ्चको तेस्रो महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभयो। साथै, कृषि बन्धुवा श्रमिकहरूका लागि गठित राष्ट्रिय संयुक्त संघर्ष समितिको संयोजकमा समेत मनोनीत हुनुभयो।
उहाँको प्रभाव र योगदान चलचित्रकला मार्फत पनि उजागर भयो जब लेखक तथा फिल्म मेकर राज सरगमले RDN सङग सहकार्य गरि color of tea चलचित्र निर्माण गर्नु भयो । मधेशका दलित र आदिवासी समुदायहरूले भोग्ने सूक्ष्म भेदभाव र मौन हिंसालाई उजागर गर्ने उद्देश्यले बनाइएको उक्त चलचित्रमा दसनलाल मण्डलले मुख्य पात्रको भूमिका निर्वाह गर्नुभयो।
यस चलचित्रले अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्यो। कोरिया ग्योंगी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा Sustainable Development Goals (SDGs) तर्फको श्रेष्ठ पुरस्कार (Excellence Award) जित्न सफल भयो। आयोजकका अनुसार, "न्यूनतम तरिकाले प्रस्तुत गरिएको कथा र भावनात्मक गहिराइ" को प्रशंसासाथ पुरस्कार प्रदान गरिएको थियो। यसअघि चलचित्र मोन्टेनेग्रोमा आयोजित MOD Fest – Minority Open Day 2025 मा पनि आधिकारिक रूपमा छनोट भइसकेको थियो।
दसनलाल मण्डलको जीवनयात्रा – शोषणको चक्रबाट देशव्यापी नेतृत्व र अब चलचित्रको पर्दासम्म – हजारौँ शोषित समुदायका लागि आशा र प्रेरणाको उज्यालो बनेको छ।




