जनकपुरधाम – जनकपुरधामको जिरोमाइलस्थित एसपी एन्ड गेस्ट हाउस होटलमा एक युवकको रहस्यमय हत्या भएको छ। धारिलो हतियार प्रहार गरेपछि एक तल्लामाथिबाट खसालेर हत्या गरिएको आशंका गरिएको छ।
हत्या हुनेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी २८ वर्षीय शनि भनिने बिमलेश यादव रहेका छन्। घटनापछि गम्भीर अवस्थामा भेटिएका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले पुष्टि गरेका छन् ।
प्रहरी स्रोतका अनुसार बिमलेश यादव शनिबार राति एक युवतीसँगै उक्त होटलमा बसेका थिए। प्रारम्भिक अनुसन्धानबाट उक्त युवतीकै संलग्नतामा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।
यद्यपि, घटनाको कारण र शंकास्पद पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।








