सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिका–०२ स्थित मधुगंगा महादेव मन्दिर (लंगुरखोला) दर्शन गर्न गएका एक युवकको आफ्नै समूहका सदस्यहरूद्वारा हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिरहाका बासिन्दा भनिएका ती युवक शनिबार मन्दिर दर्शनका लागि साथीहरूको समूहसहित गएका थिए। तर दर्शनकै क्रममा ती युवकमाथि चक्कु प्रहार र गोली हानी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



हत्या पश्चात अभियुक्तहरू घटनास्थलबाट फरार भएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक अनुमानमा आपसी विवादकै कारण घटना घटेको हो भन्ने आशंका गरिएको छ। मृतक युवकको पूर्ण परिचय भने हालसम्म खुल्न बाँकी छ।
हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ भने फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको सिन्धुली प्रहरीले जनाएको छ।




