महोत्तरी(औरही) – महोत्तरीको गौशाला नगरपालिका–८ मा निर्माण गरिएको गौशाला सुधार केन्द्रको नयाँ भवन को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीले गर्नुभयो। ३२ बेड क्षमता भएको सुधार केन्द्रलाई थप संरचना र सवारीसाधन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लेखीले प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाहले पनि सुधार केन्द्रलाई थप व्यवस्थित बनाउन र क्षमतावृद्धिका लागि प्रदेश सरकारमार्फत बजेट सुनिश्चित गर्ने प्रतिज्ञा गर्नुभयो। उद्घाटन कार्यक्रममा मन्त्री शाहले भने, “युवाहरूमा बढ्दो लागूपदार्थ दुर्व्यसन रोकथामका लागि सुधार केन्द्र अपरिहार्य छ।



समयमै नियन्त्रण नगरे देशमै गम्भीर संकट आउन सक्छ।” उहाँले सुधार केन्द्रलाई ३२ बेडबाट क्रमशः १०० बेडसम्म विस्तार गर्ने योजना रहेको र विपन्न, गरिब तथा दलित समुदायका लागि निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिनुभयो। सुधार केन्द्रको भवन निर्माणमा प्रदेश सरकारबाट ४० लाख र स्थानीय सरकारबाट २५ लाख लागत विनियोजन गरिएको हो।
भवन निर्माण सम्पन्न भइसके पनि संचालनमा थप सहयोग आवश्यक रहेको भन्दै नगरपालिका निरन्तर सहयोग गर्न तत्पर रहने प्रतिबद्धता नगर प्रमुख डा. दिपेन्द्र महतोले व्यक्त गर्नुभयो। पूर्व मेयर शिवनाथ महतोले आफूले सुरु गरेको सुधार केन्द्र आज संचालनको चरणमा पुगेको देख्दा खुशी व्यक्त गर्दै, स्थानीयको मागअनुसारै यसको स्थापना भएको जानकारी दिनुभयो।
उद्घाटन समारोह नगर प्रमुख डा. महतोको अध्यक्षता, मन्त्री लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व मन्त्री भरत प्रसाद शाह, पूर्व मेयर शिवनाथ महतो, सबै वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।




