रौतहट –रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर क्याम्पस नजिक मंगलबार साँझ अन्दाजी १८ वर्षीय युवकको छुरा प्रहारबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञात व्यक्तिले छुरा प्रहार गरेपछि गम्भीर घाइते बनेका युवकलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो।



हत्या गर्ने व्यक्तिको पहिचान अहिलेसम्म खुलेको छैन। तर, घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक चरणमा शंका लाग्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी त्रासमा परेको बताएका छन्। क्याम्पस नजिकै दिनदहाडै यस्तो घटना हुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको स्थानीयवासीको भनाइ छ।
प्रहरीले घटनाको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।




