बर्दिबास। शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासमा सारीलाई बालविवाहविरुद्ध सन्देशले भरिएको शक्तिशाली क्यानभासमा परिणत गर्दै बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुभएको छ । एक सार्वजनिक तीज उत्सव स्थलमा आयोजित अभियानमा तीज कार्यक्रममा सहभागी व्यक्ति एवम् समुदायका अन्य सदस्यहरूले यस अभियानलाई साथ दिदैँ ६ गज लामो सारीमा आफ्ना सन्देशहरू लेखेर अभियानमा सहभागिता जनाउनुभएको थियो ।
अभियान बर्दिबासस्थित युवा अभियन्ताहरूको समूह युथ फर चेन्ज ले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको हो।अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्नको लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरूलाई सामाजिक वा वातावरणीय परिवर्तनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न सहयोग गर्दछ।




अभियानको आरम्भ गर्दै मधेश प्रदेश सभा सदस्य एवम् बालधिकारका लागि संसदीय मञ्च, मधेशका संयोजक माननीय शारदा थापाले भन्नुभयो, “बालविवाहले बालबालिकाको स्वास्थ्य, शिक्षासँगै सम्बन्धमा समेत गम्भीर असर पुर्याउँछ । बालविवाह एक सामाजिक मात्र नभई कानूनी अपराध पनि हो । त्यसैले बालविवाहविरुद्धको अभियानमा सबैले सहभागी हुन आवश्यक छ।” उहाँले युवाहरू आफ्नै पहलाम बालविवाह विरुद्ध अभियान शुरु गरेकोमा त्यसको प्रशंसा गर्दै बालविवाह अन्त्यको अभियानमा मधेश प्रदेश सरकारको सधैं साथ रहने प्रतिबद्धता जनाउनुभयो।
“यस सारीका सन्देशमा हाम्रा कथा, संघर्ष र माग झल्किन्छन् । हाम्रो समुदायमा धेरैले खुलेर भन्न नसकेको कुरा यहाँ भनिएको छ : बालविवाह संस्कार होइन, अन्याय हो । कपडामा लेखिएका यी सन्देशहरूमार्फत हामी भन्न खोजिरहेका छौं कि छोरीहरूका सपना छन्, जसलाई जोगाउनु आवश्यक छ।हामी तबसम्म रोकिँदैनौं जबसम्म हरेक बालबालिकाले आफ्ना सपना जोगाउने स्वतन्त्रता प्राप्त नगरून्जेल हामी रोकिदैनौँ” बर्दिबासस्थित युथ फर चेन्जकी युवा अभियन्ता प्रतिमाले भन्नुभयो । अभियानमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद क्षेत्री, उपप्रमुख तारा देवी, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्का, साथै बालअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू र स्थानीय समुदायका सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । अभियानमा सहभागी सबैले बालविवाहको विरुद्ध एक्यबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७८ को राष्ट्रिय जनगणनाले १० देखि १७ वर्ष उमेर समूहका ७४,२७२ बालबालिकाको विवाह भइसकेको देखाएको छ । जसमध्ये १६,३४७ बालविवाहका घटना मधेश प्रदेशका देखिएका थिए, जुन राष्ट्रिय कुलको पाँच भागको एक भन्दा धेरै हो । यो अवस्था गम्भीर छ । मधेशमा ४२.४ प्रतिशत महिलाहरू १८ वर्षभन्दा अघि नै विवाह गर्छन्, जबकि राष्ट्रिय औसत ३३ प्रतिशत मात्र छ । महोत्तरीमा यो दर ४३.३ प्रतिशत पुगेको छ । तथ्याङ्कअनुसार, मधेशमा हरेक पाँचमध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गर्छन् ।-गोरखापत्रबाट




