महोत्तरी - औरही नगरपालिकामा रहेको सार्वजनिक शौचालय सरसफाइको अभावमा फोहोर र दुर्गन्धित भई प्रयोग गर्न नसक्ने अवस्थामा पुगेकोछ। यस सार्वजनिक शौचालयको औरही नगरपालिकाले आर्थिक वर्षमा निर्माण सम्पन्न गरेको थियो ।
औरही नगरपालिका–१ स्थित औरही बजारमा रहेको यस सार्वजनिक शौचालयको नगरपालिकाले आव २०७६/०७७ मा करिब १० लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । तर निर्माण पश्चात उचित रेखदेख र सरसफाइ नहुँदा शौचालयको दुरावस्था भएको छ।

शौचालयमा पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ। पेन्ट तथा साइनबोर्डको काम पनि भइसकेको देखिन्छ। दिशाको लागि १० रुपैयाँ र पिसाबको लागि ५ रुपैयाँ तोकिए पनि हाल शौचालय प्रयोग गर्न सक्ने अवस्था छैन। शौचालयभित्र पानीको लागि हाते कल र मोटर जडान गरिएको भए पनि दुवै चालु छैन ।

बजारमा आउने एक सेवाग्राहीले भने,“नियमित सरसफाइ नभएको र सम्बन्धित निकायले ध्यान नदिएको कारण शौचालय प्रयोगै गर्न नसकिने बनेको छ।”विशेषगरी हप्ताको दुई दिन, मंगलबार र शुक्रबार लाग्ने औरही बजारमा सयौं व्यापारी तथा ग्राहकको भीड हुन्छ। गाउँ–गाउँबाट समेत अस्थायी पसल लिएर आउनेहरूको चाप हुने गर्छ। तर, सार्वजनिक शौचालय फोहोर हुँदा सेवाग्राहीहरू करिब २०० मिटर टाढा खेतमा खुला शौच गर्न बाध्य हुनेगरेको छ।

अहिले हेर्ने हो भने शौचालयमा फोहोरको थुप्रो, प्रयोग भएका बोतल, गुट्खा र प्लास्टिक पोलोथिनका झोला फ्यालिएर भरेको छ। पानीको अभाव र सरसफाइ नहुँदा दुर्गन्धले गर्दा शौचालय प्रयोगै गर्न सक्ने अवस्था छैन। औरही बजार यो क्षेत्रकै सबैभन्दा पुरानो बजार हो। यस्तो ऐतिहासिक र ठूलो बजारमा निर्माण गरिएको शौचालय व्यवस्थित नहुनु केवल सेवाग्राहीका लागि असहज मात्र नभई बजारको प्रतिष्ठाको विषय पनि जोडिएको छ।

नगरपालिकासहित सम्बन्धित निकाय, शौचालय व्यवस्थापन समिति र बजारमा अस्थायी पसल सञ्चालन गर्ने व्यापारीहरूले समेत यसतर्फ तत्काल ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानिय युवा रामबरण मण्डलले बताए । उनले नगरपालिकाले अबिलम्ब यसको सरसफाइ गरी व्यवस्थित गर्न माग गरे ।


भिडियो हेर्नुहोस्...




