काठमाडौं । जेन जी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ राजीनामा दिएको उनको सचिवालयका लोकेन्द्र भट्टले जानकारी दिए ।
राजीनामा दिनुअघि गृहमन्त्री लेखकले सोमबार अपराह्न कांग्रेस पदाधिकारी बैठकमा आफूले राजीनामा दिने बताएका थिए ।



सोमबार जेन जीको काठमाडौंलगायत देशका मुख्य शहरहरूमा भएको प्रदर्शनको क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंमा १७ जनाको मृत्यु भएको छ भने इटहरीमा दुई जनाको मृत्यु भएको छ ।
जेन जीको प्रदर्शमा प्रहरीले गोली चलाएर प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री राजीनामा उनकै पार्टी कांग्रेसकै सदस्यहरूले मागेका थिए ।
भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लेखकको राजीनामा माग गरी तीन महिनाभन्दा लामो समयदेखि संसद् अवरोध गरे पनि उनले राजीनामा दिएका थिएनन् ।
यसअघि गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा पनि उनको राजीनामा माग भएको थियो ।




