जनकपुरधाम । जेन-जी आन्दाेलनकारीहरुले सर्लाहीको लालबन्दी नगरपालिका कार्यालयमा आगजनीसहित भिड अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ ।
प्रदर्शनकारीहरुकाे भिडले मंगलबार बिहान लालबन्दी नगरपालिका कार्यालयमा आगजनी गरेकाे थियाे । भिडले नगरपालिका कार्यालय सहित कार्यालय परिसरमा रहेकाे स्काभेटर लगायतमा समेत आगाे लगाएर ध्वस्त पारेकाे स्थानीयले बताएका छन् । त्यस्तै नवलपुर चाेकस्थित पार्क लगायत स्थानमा समेत प्रदर्शनकारीहरुले ताेडफाेडसहित आगजनी गरेका छन् ।



भिड अनियन्त्रित भएका कारण लालबन्दी नगरपालिका क्षेत्रमा मंगलबार दिउँसाे १ बजेदेखि अर्काे सूचना नआउञ्जेल प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सराेज राईले जानकारी दिए । कर्फ्यू आदेश जारी भएपछि लालबन्दी बजार क्षेत्रमा र्याली, जुलुस एवं दुई वा दुई भन्दाबढी समूहमा हिँडडुलमा प्रतिबन्ध लगाइएकाे प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडिमा आगजनि गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ । जेनजीको प्रदर्शन हिंसात्मक हुन् नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिए।

चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि चन्द्रपुर नगरपालिका भित्र कर्फ्यु जारी गरेको छ । उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चन्द्रनिगाहपुर चोकदेखि चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा चन्द्रनिगाहपुर चोकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिममा चन्द्रनिगाहपुर चोकदेखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म कर्फ्यु लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिए। कर्फ्यु लागेको सिमाना भित्र आवतजावत गर्न, भेला, जुलुस प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ ।
कफ्र्यु अवधि भर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीको सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कर्फ्यु आदेशमा उल्लेख छ । कफ्र्यु जारि भए पनि जेनजीको प्रदर्शन रुकेको छैन ।
यस अघि जेनजीले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेका छन् । आगलागीले नगरपालिकाको एउट गाडि , दुई वटा स्कुटर र एउटा पानी ट्याङ्कर जलेर नष्ट भएको छ ।
आगो लागेर नगरपालिकाको नयाँ भवनको छेउमै रहेको पुरानो भवनमा क्षति पुगेको छ । आगलागीले नगरपालिकाको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।




