जनकपुरधाम – राजिनामाको घोषणा गरेका मधेशका मुख्यमन्त्री सतीश कुमार सिंहले कुरा फेरेका छन् ।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको पीक आवरमा मधेशको मुख्यमन्त्री सिंहले विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनि फेसबुकमा स्टाटस लेख्दै राजिनामा घोषणा गरेकोमा आज आएर कुरा फेरेका छन् ।
उनको फेसबुकमा उल्लेख छ । ‘नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’त्यसको चार दिनपछि कुरा फेरेका मुख्यमन्त्री सिंहले पल्टी मार्दै कुरा बदलेको छ। उनले भने ‘सिस्टम चेन्जको म स्वागत गर्छु । तर अरुको लागि म राजिनामा किन गर्ने ?’




फेसबुकमा राजीनामा दिइसकेको व्यक्ति नैतिक रुपमा पछाडि हटेर आज राजीनामा दिएको छैन भनेर भन्न त मिलेन नि भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘मान्नलाई मेरो मात्र नैतिकता छैन नि । सबैले मान्नु पर्यो नि । पहिलेको र अहिलेको परिस्थिति फरक रहेकाले राजीनामा दिने पक्षमा छैन ।’उनलाई राजीनामा दिन जनमतका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए । त्यसको केहीबेरपछि सिंहले फेसबुकमा वक्तव्य लेख्दै राजीनामा गरेको घोषणा गरेका थिए ।मुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवका अनुसार अहिलेसम्म मुख्यमन्त्रीको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन । ‘मुख्यमन्त्री ज्यूले राजीनामा दिनुभएको कुरा हामीले पनि फेसबुकमा हेर्यौं । तर प्रदेश प्रमुखको कार्यालयलाई अहिलेसम्म लिखित राजीनामा पत्र कुनै पनि माध्यमबाट प्राप्त भइसकेको छैन’ सचिव यादवले भने ।प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजिनामा नदिएको र स्वीकृत नभएकाले कानुनी रुपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ ।




