सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश कुमार यादवका अनुसार आज बिहान अभिषेकको शव घर नजिकैको आँपबगैंचामा भेटिएको हो । घटनास्थलमा डग टोली बोलाइने तयारी भइरहेको र अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
परिवारका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गरे पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र पाँच करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो ।
त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको र प्रहरीमा हिजै मुद्दा दर्ता भएको प्रहरी निरीक्षक यादवले पुष्टि गरे ।
अपहरणकारीले म्यासेजमा हिन्दीमा लेखिएको संदेश यस्तो थियो ‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सहि सलामत चाहिए तो ५ करोड रुपैया हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’




