मंगलबार जनकपुरधामसहित तराई–मधेशमा कोजाग्रत पर्व मनाइँदै छ । कोजाग्रतमा विधिवतरूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिँदै छ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि प्राचीन मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन छ ।
मिथिला क्षेत्रमा कोजाग्रतलाई ‘कोजगरा’ भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाइलाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लैजाने परम्परा रहेको छ । कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ ।
जानकी मन्दिरका महन्तले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । यस दिन महोत्तरीको रतौलीबाट जानकी मन्दिरमा भार आउने परम्परा रहेको छ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाइ दही च्युरा, पान मखानसहितका १ सय ८ वटा भार आउने परम्परा अझ कायम रहेको छ ।




