—महोत्तरी जिल्लामा उत्कृष्ट रिजट ल्याउने बर्दिबास नगरको पहिलो हाइस्कूलको रिजल्ट ३३ प्रतिशतमा झ¥यो
—शैक्षिक सुधारका लागि बिजलपुरा रुपान्तरण अभियानले प्रधानाध्यक हरिदेव महतो, वडा अध्यक्ष लक्ष्मण सिंह र मेयर प्रह्लाद कुमार क्षेत्रीलाई बुझाई माग पत्र बुझाइयो ।माग पुरा गर्न सात दिन भित्र प्रक्रिया सुरु नगरेको खण्डमा चरणबद्ध संघर्षका कार्यक्रम गरिने ।
बिजलपुरा - जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुरा बर्दिबास नगरपालिकाको पहिलो हाइस्कूलको नामले चिनिन्छ । २०८१ सालको एसईईमा परिक्षाको नतिजा ३३.३ मात्रै आयो । अर्थात परिक्षामा सहभागी ६६ जना विद्यार्थी मध्य २२ जना नियमित पास भएका थिए भने ४४ जना विद्यार्थी फेल भए ।
जब कि बि.सं.२०६० साल यो स्कूल नै महोत्तरी जिल्लाभरीमा एसएलसीको परिक्षामा पहिलो स्थान हाँसिल गरेर एक लाख पुरस्कार जितेको थियो । तर, २१ अगाडीको परिक्षाको नतिजा र अहिलेको नतिजामा अकाश जमिनको फरक देखिएको छ । यसले नै प्रष्ट पार्छ ६६ वर्ष पुरानो जनता मा.वि डाँडाटोल विजलपुराको हालको शैक्षिक दुराअवस्था । बर्दिबास नगरपालिका –१३ स्थित जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराको शैक्षिक सुधारका लागि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन र स्थानीय निकायलाई १३ बुँदे मागसहित ७ दिने चेतावनीपत्र बुझाएको छ ।
विद्यालयको शैक्षिक स्तर लगातार कमजोर हुँदै गएको भन्दै स्थानीय बासिन्दा तथा अभियानकर्मीहरूले बर्दिबास नगरपालिका–१३ का वडा अध्यक्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक हरिदेव महतो र नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीलाई छुट्टाछुट्टै ध्याकर्षण पत्र बुझाएका छन् ।
अभियान संयोजक राजकरण महतोका अनुसार विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो । उनले भने, “हामीले विद्यालय सुधारका लागि सुझाबसहितको मागपत्र विद्यालय प्रशासनलाई बुझाएका छौं । सात दिनभित्र माग पुरा गर्न प्रक्रिया सुरु नभएमा चरणबद्ध दबाबमूलक संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं ।”
अभियानले राखेका मुख्य माग र सुझावहरू ः
१.विज्ञसहितको विद्यालय व्यवस्थान समिति चयनका लागि यथासिघ्र प्रक्रिया सुरु गर्नु पर्ने ।
२. शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षण सिकाई प्रक्रियाको निरिक्षण तथा अनुगमन गर्न टोली गठन गर्नु पर्ने ।
३. विद्यालय स्तरिय बाल क्लवको सक्रियता र नियमितताका लागि प्रक्रिया सुरु गर्नु पर्ने ।
४.प्रत्येक महिना आफ्नो क्षेत्रमा बिशेषज्ञयता हाँसिल गरेका तथा प्रेरणा दिन सक्ने व्यक्तित्वहरुको माध्यमबाट गेष्टलेक्चरको व्यवस्थान गरि नियमितता दिनु पर्ने ।
५. यस विद्यालयबाट उत्तिर्ण भइसकेका विद्यार्थीहरुको पनि विद्यालय प्रति लगाव बढाउन पूर्व विद्यार्थी मञ्च गठन गर्नु पर्ने ।
६. प्रधानाध्यपाकको पहलमा सर्वपक्षिय बैठक बसी विद्यालय सुधार योजना निर्माण गर्नु पर्ने ।
७. विद्यार्थीको निरन्तर शैक्षिक विकासका लागि अक्षय कोष स्थापना गरि नियमित छात्रवृत्ति प्रदान गर्नु पर्ने ।
८. अभिभावक भेला कार्यक्रमलाई क्रियाशिल र नियमित बनाउनु पर्ने ।
९. शिक्षक, अभिभावक संघलाई प्रभावकारी बनाउन नियमित बैठक गर्नु पर्ने ।
१०. विद्यालयको शैक्षिक विकास तथा सुधारका लागि टोल टोलमा आमा समूह गठन गर्नु पर्ने ।
११ . विद्यालयको समग्र विकासका लागि जनसमुदाय, सहयोगी तथा सरोकारवालाहरुबाट आर्थिक सहयोग जुटाउन समन्वय समिति गठन गर्नु पर्ने लगायत ।




