महोत्तरी- मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाअन्तर्गत बलवा नगरपालिका–११ धमौरा (रौजा) बर्थिङ स्वास्थ्य चौकीलाई आवश्यक बर्थिङ सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
One Heart Worldwide को आर्थिक सहयोग र रतौली युवा क्लबको प्राविधिक सहकार्यमा सञ्चालित परियोजनाको उद्देश्य ग्रामीण महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा, गर्भजाँच तथा नवजात शिशु स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउनु रहेको हो ।
एक औपचारिक समारोहका बीच रतौली युवा क्लबका अध्यक्ष मोहम्मद साकिर खानले स्वास्थ्य संस्था व्यवस्थापन समिति र वडा नं. ११ का अध्यक्ष अशोक कुमार यादवलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बलवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार माझी, स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्य, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, जग्गादाता प्रतिनिधि तथा क्लबका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
परियोजनाका संयोजक राजकुमार महतोले हस्तान्तरण गरिएका सामग्रीहरूको प्रयोगविधि र प्रभावकारिताबारे जानकारी दिँदै यसले मातृ तथा नवजात स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । क्लब अध्यक्ष खानले सामग्रीको उचित व्यवस्थापन र प्रयोगमार्फत समुदायका महिलाहरूलाई समयमा नै गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष यादवले One Heart Worldwide र रतौली युवा क्लबबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
बर्थिङ सामग्री उपलब्ध भएपछि धमौरा स्वास्थ्य चौकीले अझ प्रभावकारी र सुरक्षित सेवा प्रदान गर्न सक्ने र यसले सुरक्षित मातृत्व सुनिश्चित गर्न तथा मातृ र नवजात मृत्युदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











