महोत्तरी - सूर्य उपासना र आस्थाको पर्व छठको दोस्रो दिन आज (आइतबार) साँझ देशभरका छठघाटदेखि घर–आँगनसम्म भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ।
चार दिनसम्म चल्ने यो पर्वको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले दिनभरि निर्जला व्रत बस्ने, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा चोखो प्रसाद बनाउने परम्परा रहेको छ।

खरनामा माटोको नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर, केराको पातमा राखी छठी मातालाई नैवेद्यका रूपमा अर्पण गरिन्छ। साथै मूला, अदुवा, पान, सुपारी, केरा, दूध आदि पनि चढाइन्छ। व्रतालुले पूजा सम्पन्न गरेपछि मात्र परिवारका सदस्यहरूसँग मिलेर प्रसाद ग्रहण गर्छन्।

महोत्तरीको औरही नगरपालिका–२ की व्रतालु कर्म देवी यादव ले भनिन्, “छठी माताको आशीर्वादले घर–परिवारमा सुख–समृद्धि रहोस् भन्ने मनोकामनाका साथ हरेक वर्ष यो व्रत गर्छु। खरना विधिमा भगवान् सूर्य र छठी मातालाई नैवेद्य चढाउँदा मनमा एक किसिमको शान्ति मिल्छ। यो व्रतले आत्मसंयम, पवित्रता र समर्पण सिकाउँछ।”

उनका अनुसार आजको खरनापछि अब तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र व्रतालुले पूर्णरूपमा व्रत तोड्ने गर्छन्। “यो चार दिनको यात्रा विश्वास र संयमको परीक्षा हो,” यादवले थपिन्।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर–मन शुद्ध गरिन्छ, दोस्रो दिन ‘खरना’ गरी उपवास प्रारम्भ गरिन्छ, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत सम्पन्न गरिन्छ।

महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका तराई–मधेसका जिल्लाहरूमा आज बेलुकी खरनाको अवसरमा गाउँ–गाउँमा दीप, कलश र भक्तिपूर्ण गीतले वातावरण आलोकित बनेको थियो। व्रतालुहरूले घर–आँगनमा पूजाघर सजाएर छठी मातालाई श्रद्धा र भक्ति पूर्वक प्रार्थना गरेका छन्।

छठ पर्वलाई सूर्यदेव र छठी माताको आराधना, परिवारको कल्याण र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीकका रूपमा मनाइन्छ। श्रद्धा, समर्पण र स्वच्छताका कारण यो पर्व मधेसमा मात्र नभई देशका अन्य भू–भागमा पनि तीव्र रूपमा फैलिँदै गएको छ।








