प्रत्येक वर्ष झैँ धुमधाम साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारीमा सरोकारवाला जुटेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार महोत्सवको तयारीबारे सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले यस वर्ष हुने कार्यक्रमको बारेमा जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरुसहितको जन्ती आउने छ भने जानकी मन्दिरले जन्तीको स्वागत, सत्कार र बासको व्यवस्थापन गर्नेछ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस वर्ष मंसिर ४ गते जनकपुरधाम नगर दर्शनको कार्यक्रम रहेको छ भने ५ गते फूलबारी लिला रहेको छ । त्यस्तै मंसिर ६ गते धनुष यज्ञ हुनेछ भने ७ गते तिलकोत्सव हुनेछ । त्यस्तै ८ गते मटकोर हुनेछ भने ९ गते स्वयमवर तथा विवाह महोत्सव हुनेछ । मंसिर १० गत्ते रामकलेवा विधि सम्पन्न गरी सम्पूर्ण जन्तीहरुलाई विदा गरिने उत्तराधिकारी महन्त दासले बताए । उनले यस वर्ष पनि विभिन्न समितिहरु गठन हुने र हरेक समितिलाई जिम्मेवारी तोकेर महोत्सव भव्य र व्यवस्थित रुपमा सम्पन्न गरिने बताए ।
बैठकमा जानकी मन्दिरका बडे महन्थ राम तपेश्वर दास बैष्णवले देशमा आन्दोलन हुने चर्चा चलिरहेकोले सबैलाई शान्त हुन अनुरोध गर्नुभयो । उनले यो देश शान्तिको देश हो र शान्ति एवम वार्ताको माध्यमबाट समस्याहरु समाधान गर्न सकिने भन्दै आन्दोलन, हत्या हिंसा नगर्न सबैलाई आग्रह गर्नुभयो ।




