महोत्तरी - तराई मधेसका किसान काटेका धान बाली वर्षाले क्षति पुगे पछि चिन्तामा परेका छन्। समयमै पानी नपरी रोपाइँ गर्दा धानका विउ सुकेर नष्ट हुने क्रम बढेको थियो भने,अहिले काट्ने समयमा परेको अविरल वर्षाले खेतमा धान बाली डुबेर कुहिन भएको छ।

बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभावले नेपालमा पनि मौसममा ठूलो अस्थिरता ल्याएको छ।त्यसकारण, महोत्तरी, धनुषा, सर्लाही लगायत जिल्लामा काट्न ठिक्क पारिएका धानका बाली ढलेर पानीमा नष्ट भएका छन्।

औरही–२ का किसान बिष्णु यादवले भने, “रोप्ने बेला पानीको अभाव भयो, अब काट्ने बेला पानीले नै धान नष्ट गर्यो। करिब २ विगाह बाली भिजेर नोक्सान भएको छ।”बर्दिवास–१३ की किसान साबित्री महतोले भने,“कहिले सुख्खा,कहिले बाढी-हामी किसान सधैं मारमा पर्छौं।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीको औरहीमा ५७.८ मिलिमिटर, धनुषाको जनकपुरमा ४२.४ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा महोत्तरीको औरहीमा मापन भएको छ। उक्त क्षेत्रका धानबाली पनि सबैभन्दा बढी नष्ट भएको अनुमान गरिएको छ।
किसान दिनेश यादवले भने, “समयमै पानी पर्दैन, समयमै खाद(मल) पाउँदैन। मेहनतले रोपेको बाली, बेमौसमी वर्षाले नष्ट हुन्छ। आलु पनि पानीले नष्ट भयो, सबै किसान मारमा पर्छन्।”

मौसम पूर्वानुमान महाशाखाले अझै भोली शनिबार विहानसम्म वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।






