महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्थानीय तहमा देखिएका समस्या र मुद्दाहरूको विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“स्थानीय अधिकार कार्यक्रम (LRP–41)” अन्तर्गत आयोजित उक्त अन्तरक्रियालाई नागरिक सरोकार मञ्च रामगोपालपुरले अगुवाइ गरेको थियो भने रतौली युवा क्लब र एक्सनएड नेपालले सहकार्य गरेका थिए।
अन्तरक्रियामा सहभागीहरूले शिक्षाको गुणस्तर, महिला सशक्तीकरण, बाल अधिकार, जलवायु परिवर्तन, वातावरणीय समस्या र सुशासनलगायत विषयमा आफ्ना धारणा राखेका थिए। सहभागीहरूले समुदायमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुलार साहले समुदायका समस्या सुन्दै तत्काल समाधान गर्न सकिने विषयमा प्रतिबद्धता जनाउँदै स्थानीय सरकार जनताको सरोकारमा जिम्मेवार रहेको उल्लेख गरे। उनले समुदायका सुझावलाई आधार बनाएर आगामी नीति तथा योजना निर्माणमा प्राथमिकता दिइने बताएका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, वडा नं. १ का अध्यक्ष विजय कुमार मण्डल, वडा नं. ५ का अध्यक्ष मकेश्वर कुमार शर्मा, वडा नं. ९ का अध्यक्ष नागेश्वर प्रसाद मण्डल र नागरिक सरोकार मञ्चकी संयोजक कला देवीले समस्या पहिचान र समाधानका उपायबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।
सहभागीहरूले शिक्षाको पहुँच र गुणस्तर सुधार, कृषक समूह दर्ता, विपत्तिपूर्व तयारी, कार्यस्थलमा महिलाको असमान व्यवहार न्यूनीकरण, बाल श्रम न्यूनीकरण, न्यून ज्याला र सुशासन प्रवर्द्धनलाई प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियाको अन्त्यमा धन्यवाद ज्ञापन र आगामी कार्ययोजना निर्माण गरिएको थियो। स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य सुदृढ गर्दै पहिचान गरिएका समस्याको व्यावहारिक समाधानका लागि संयुक्त प्रतिबद्धता गरिएको नागरिक सरोकार मञ्चका प्रतिनिधिहरूले बताएका छन्।




