महोत्तरी- शैक्षिक वर्ष २०८२ को B.Sc. Agriculture खुला प्रवेश परीक्षामा त्रिभुवन विश्वविद्यालय (TU) र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) बाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारले बधाई तथा शुभकामना कार्यक्रमका साथ सम्मान गरेको छ ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारका विद्यार्थीहरू — करिश्मा साह, आनन्द साह, आनन्द सिंह र नगीना शर्मा — ले देशका प्रमुख विश्वविद्यालयहरूमा छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन् ।



उनीहरूको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्न विद्यालय परिवार र व्यवस्थापन समितिको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष सिंहले विद्यार्थीहरूको मेहनत, समर्पण र सफलताको प्रशंसा गर्दै उज्ज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो । साथै, उहाँले विद्यार्थीहरूलाई भविष्यमा पनि देश र समाजको सेवामा ज्ञानको सदुपयोग गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सफल विद्यार्थीहरूलाई बधाईपत्र र शुभकामना दिइएको थियो ।




