महोत्तरी-महोत्तरीमा आगामी जाडोयामको शीतलहरबाट हुन सक्ने जनधनको क्षति रोक्न समयअगावै तयारी थालिएको छ। सामान्यतया पुस महिनादेखि सुरु हुने शीतलहर कतिपय वर्ष मंसिरको मध्यसम्मै तीव्र भई आएको अनुभवका आधारमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पूर्वसचेतना तथा पूर्वतयारीका गतिविधि अघि बढाएको हो।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मधेशमा शीतलहर दीर्घकालीन समस्या भएको र क्षति भएपछि मात्र व्यवस्थापन गर्न खोज्दा खर्चिलो तथा जटिल हुने भएकाले यस वर्ष समयमै तयारीलाई प्राथमिकता दिइएको छ। ‘‘हामीले अहिलेबाटै पूर्वसचेतना र तयारीका काम सुरु गरिसकेका छौँ,’’ उनले बताए।
जिल्लास्थित सबै स्थानीयतहका प्रमुख तथा अध्यक्षहरू, सामाजिक संघ–संस्था, तथा सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको बृहत् बैठकले शीतलहरको जोखिम नियन्त्रणका लागि तत्काल कार्ययोजना बनाउने निर्णय गरेको समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने यो समितिले विगतमा शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा भूमिका खेलेका संस्थाहरूसँग समन्वय गर्दै नयाँ योजना तयार गर्ने निर्णयसमेत गरेको छ।
समितिको निर्णयअनुसार प्राप्त हुने योजनाहरू अनुमोदन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। जिल्लाका गैरसरकारी संस्थाहरूलाइ पनि स्थानीयतहसँग सहकार्य गरेर शीतलहर प्रतिकार्य योजना निर्माण तथा कार्यान्वयनमा अभिप्रेरित गराइने समितिको भनाइ छ। समितिको बैठक बिहीबार सम्पन्न भएको हो।
‘‘बैठकका सबै निर्णयहरू स्थानीयतह तथा संघ–संस्थाका प्रतिनिधिको उपस्थितिमै भएका छन्,’’ प्रजिअ यादवले भने, ‘‘हामी समन्वयका साथ पूर्वतयारीका गतिविधि अघि बढाउनेछौँ।’’
मधेशमा हरेक वर्ष शीतलहरका कारण मानिसको स्वास्थ्य, जनजीवन तथा कृषिमा ठूलो प्रभाव पर्ने भएकाले यसपालि आवश्यक दाउरा तथा न्यानो सामग्रीको व्यवस्थापन अहिलेदेखि नै गर्न सम्बन्धित निकायहरूलाई सचेत गराइएको यादवले जानकारी दिए।
यसबाहेक गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यलाई समेत प्राथमिकताका साथ तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।




