जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको स्वास्थ्य सूचकाँक कमजोर हुँदा स्वास्थ्यकर्मीले अझ इमानदारीका साथ काम गर्न आवश्यक भएको बताएका छन् ।
जनकपुरमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले खाद्यान्न उत्पादनमा समृद्ध मधेशमै बालबालिकामा कुपोषण उच्च हुनु दुःखद भएको बताए ।
भौतिक पूर्वाधारभन्दा प्रभावकारी कार्यक्रम र बजेट प्राथमिकताबाट स्वास्थ्य सूचक सुधार सम्भव हुने उनले बताए । स्वास्थ्य सचिव डा. ओमप्रसाद अर्यालले दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गरे भने स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेले शीतलहरका जोखिमबारे सचेत गराए ।
यूएनएफपीएका प्रमुख डा. नरेन्द्र मिश्रले कुपोषण र गर्भवती महिलामा रक्तअल्पता मधेशको प्रमुख चुनौती रहेको बताए । तीनदिने कार्यक्रममा प्रदेशका अस्पताल, शिक्षण संस्थान र निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले स्वास्थ्य सुधारका विषयमा छलफल गर्नेछन् ।


