महोत्तरी - विवाह पंचमी महोत्सवको तेस्रो दिन मटिहानीमा आज धार्मिक उत्साह, भक्ति र सांस्कृतिक वातावरणबीच माता सीताको मटकोर कार्यक्रम धार्मिक विधिपूर्वक सम्पन्न भएको छ।
मटिहानी नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा पौराणिक महत्वको लक्ष्मी सागर पोखरीमा आयोजित मटकोर महोत्सव लोकगीत, झाँकी प्रदर्शन, बाजागाजा र भक्तजनको विशाल उपस्थितिका कारण विशेष आकर्षणको केन्द्र बनेको थियो। किम्बदन्तीअनुसार तेत्रायुगमा भगवान् राम र माता सीताको विवाहका लागि वेदी निर्माण गर्न यिनै पोखरीको माटो प्रयोग गरिएको मान्यता रहँदै आएको छ। यही परम्पराका रूपमा प्रत्येक वर्ष विवाह पंचमीको अवसरमा मटकोर महोत्सव भव्य रूपमा आयोजना गरिँदै आएको छ।

मटकोर कार्यक्रम लक्ष्मी नारायण मठ मटिहानी र साधु सेवा समिति जनकपुरधामको संयुक्त आयोजनामा सम्पन्न भएको हो। सो अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जगरनाथ दास बैष्णव, उत्तराधिकारी महन्थ रबिन्द्र दास बैष्णव, सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख हेरम्भ शर्मा, शसस्त्र प्रहरी बल नं. ९ जलसागरका प्रमुख शेर बहादुर अधिकारी, वडा अध्यक्ष जितनारायण माझी, मधवापुर ग्रामपंचायतका सरपंच बलरामजी लगायत जनप्रतिनिधि, साधु–सन्त तथा भक्तजनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सांस्कृतिक प्रस्तुति र झाँकीले वातावरणलाई झनै भक्तिमय बनाएको थियो। स्थानीय कलाकारहरूले भगवान् राम–सीताको पौराणिक कथा, मिथिलाको सांस्कृतिक पहिचान तथा विवाह पंचमीको ऐतिहासिक महत्त्व उजागर गर्ने आकर्षक प्रस्तुति दिएका थिए।

मटकोरको यस प्राचीन परम्पराले मटिहानी तथा मिथिलाञ्चलमा धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र ऐतिहासिक गौरव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ। आज संकलित पवित्र माटो भोलिदेखि जनकपुरधामस्थित जानकी मन्दिरमा सञ्चालन हुने विवाहसम्बन्धी मुख्य धार्मिक विधिहरूमा प्रयोग गरिने छ।



































