सुजाता राई
विराटनगर । स्वर संगम संगीतालयको ३१औं वार्षिकोत्सव तथा स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस विराटनगर–१ हाटखोलास्थित ठूलो हलमा बिहीवार सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गले सांगीतिक योगदान र सांस्कृतिक उत्तराधिकार जोगाउन संगीतालयको भूमिकाको प्रशंसा गरे।

उत्सवको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो। संगीततर्फ गायक कुबेर राई, साहित्यमा भवानीप्रसाद पोखरेल, ललितकलामा अनुराधा थापा र समाजसेवामा वरिष्ठ सीता पोखरेल सम्मानित भए।
संगीतालय स्थापना कार्यमा योगदान पुर्याएको भन्दै प्रशिक्षार्थी विभूतिराज कोइराला र श्यामकृष्ण बाँस्कोटालाई ‘नव प्रतिभा' सम्मान गरे ।
कार्यक्रममा १७ जना गायक/गायिका,९ जना वाद्ययन्त्र वादकहरुले स्वर सम्राट नारायण गोपालका गीतहरु गाएर ४०० जनालाई मन्त्रमुग्ध बनाए । उपस्थिति साहित्यकार, पत्रकार,संगीतकर्मीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अध्यक्षता कुशेश्वर राईले गरेका थिए भने आमन्त्रित पहुनाहरुलाई स्वागत महिमा शर्मा पाण्डेले र सञ्चालन भरत गुरागाईंले सम्हालेका थिए।





