जनकपुरधाम । मधेश प्रदेशमा रहेको बालवालिका सम्बन्धि समस्याको समाधान गर्नका लागि प्रहरीले अझै गंरितापूर्वक लाग्नु पर्ने आवश्यकतामा जोड दिईएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद् र एकीकृत हातेमालो समाज नेपालको संयुक्त आयोजनामा आज जनकपुरधाममा नेपाल प्रहरीले वाल अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि मधेश प्रदेशमा सञ्चालन गरेको कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रममा सहभागिहरुले सो विषयमा जोड दिनु भएको हो ।
मधेश प्रदेशका विभिन्न जिल्लाका महिला तथा वालवालिका शाखामा कार्यरत रहेका प्रहरी अधिकृत तथा प्रहरीहरुको सहभागितामा भएको छलफलमा मधेश प्रदेशमा लागु पदार्थको दुर्वेशन, बालविवाह, बालवालिकाको जोखिमपूर्ण श्रम, वेचविखन तथा यौन हिंसाका कारणले धेरै बालवालिकाहरु पिडित हुनु परेको बताउदै पछिल्लो समयमा सामाजिक सञ्जालका कारणले बालवालिका माथिको हिंसा बढ्न थालेकोमा त्सवाट जोगिन आमा बुबा नै सचेत रहन जरुरी रहेको प्रहरीहरुले बताउनु भयो ।

विद्यालय तहवाट नै उमेर नपुग्दै बालवालिकाहरु भाग्ने समस्या बढ्दै गएको र त्यस सम्बन्धि उजुरीहरु बढी मात्रामा प्रहरीको महिला तथा वालवालिका शाखाहरुमा पर्ने गरेको मधेश प्रदेश प्रहरी कार्यालयका महिला तथा बालवालिका शाखाका बरिष्ठ प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनु भएको छ । मधेश प्रदेशका जिल्लाहरुमा आर्थिक वर्ष २०८१–२०८२ मा सामाजिक सञ्जालका कारणले पिडित भएर १ हजार १ सय ५६ जनाले उजुरी दिएको छ । यसै गरि बालवालिका माथि विभिन्न प्रकारका हिंसा सम्बन्धि उजुरी १ हजार १ सय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बालवालिकाहरुमा हुने गरेको विभिन्न प्रकारको हिंसाको प्रभावकारी नियन्त्रणका लागि तीनै तहका सरकारका बीचमा एकीकृत प्रयास हुन जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा मधेश प्रदेशका जिल्लाहरुमा लागु औषधको दुर्वेशन, वालविवाह, अन्तरजातिय तथा अन्तरधार्मिक विवाह, सामाजिक सञ्जालका कारणले बालवालिका माथिको हिंसामा बृद्धि भएको बताउनु भयो ।
राष्ट्रिय वाल अधिकार परिषदका पूर्व अध्यक्ष एवं एकीकृत हातेमालो समाज नेपालकाका अध्यक्ष डिल्लीराम गिरीले मधेश प्रदेशका जिल्लाहरुमा ठेकेदारले खनेको खाल्डो तथा पोखरीमा वर्षेनी रुपमा सैकडौ बालवालिकाहरुको डुवेर मृत्यु हुने गरेको बताउदै त्यसलाई रोक्न तथा दोषि माथि कडा कारवाही हुनु पर्ने धारणा राख्नु भयो ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलीयाले बालवालिका माथि हुने सवै प्रकारको हिंसाको प्रभावकारी नियन्त्रणका लागि वालवालिकाका क्षेत्रमा काम गर्ने सवै निकायहरु एकद्वार प्रणाी मार्फत एकीकृत कार्ययोजना सहित काम गर्न जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय बालअधिकार परिषदका सदस्य सचिव ईन्द्रदेवी ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्रालयका महिला तथा वालवालिका महाशाखाका प्रमुख निर्मला मिश्र, प्रदेश वालकल्यण सञ्जालका सदस्य सलमा खातुनलले मधेश प्रदेशमा बालवालिका माथि ह्ुने गरेको हिंसाका र नियन्त्रणका लागि गर्नु पर्ने कामका विषयमा बोल्नु भएको थियो ।




