सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सर्लाही जिल्ला कार्यसमिति गठन गरिएको छ। नेपाल पुस्तक तथा स्टेशनरी महासंघ सर्लाहीको आयोजनामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा अध्यक्षसहित विभिन्न पदमा पदाधिकारी चयन गरेको हो। नवगठित जिल्ला कार्यसमितिको अध्यक्षमा राम विनय प्रसाद शाह चयन हुनुभएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा सरोज गुप्ता, उपाध्यक्षमा मुकेश कुमार जैशवाल, सचिवमा राजकुमार शाह, सहसचिवमा मुकेश कुमार ठाकुर तथा कोषाध्यक्षमा संजय प्रसाद गुप्ता चयन हुनुभएको छ।
नव निर्वाचित कार्यसमितिका सचिव राजकुमार शाहले नेपाल पुस्तक तथा स्टेशनरी महासंघको हित, उन्नति र सुदृढीकरणका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले महासंघलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै लैजानु आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि सबै सदस्य, व्यवसायी तथा सरोकारवालाबीच आपसी एकता, सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो।

सचिव शाहले महासंघमार्फत पुस्तक तथा स्टेशनरी व्यवसायसँग सम्बन्धित समस्या, चुनौती र सम्भावनाहरूलाई पहिचान गरी समाधानका लागि पहल गरिने जनाउँदै व्यवसायीहरूको हक–हितको संरक्षण, व्यवसायिक वातावरणको सुधार तथा नीति–निर्माण तहसम्म आवाज पु¥याउन आफू दृढताका साथ लागिपर्ने स्पष्ट पार्नुभयो। साथै, नयाँ पुस्तालाई पुस्तकप्रति आकर्षित गर्ने, शैक्षिक सामग्रीको गुणस्तर अभिवृद्धि गर्ने र व्यवसायलाई समयसापेक्ष प्रविधिसँग जोड्दै लैजाने विषयमा समेत महासंघले सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो।
उहाँले सबै कार्यसमिति सदस्यहरू, सल्लाहकार तथा महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूको साथ, सुझाव र सहयोगले मात्र महासंघका लक्ष्यहरू पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै सामूहिक प्रयासबाट नेपाल पुस्तक तथा स्टेशनरी महासंघलाई अझ मजबुत, विश्वसनीय र प्रभावशाली संस्थाका रूपमा स्थापित गर्न आफू निरन्तर क्रियाशील रहने प्रतिवद्धता दोहो¥याउनुभयो।
कार्यसमितिका सदस्यहरूमा संजय कुमार महतो, अकलेश बैठा, सन्तोष चौधरी, उदयकान्त राय र निरंजन कुमार सिंह चयन हुनुभएको छ।
यसैगरी, महासंघको सल्लाहकार समितिमा रमेश कुमार खडका, रामनरेश शाह, गजपती कुमार झा, राजिव कुमार झा र शम्भुनाथ झा चयन हुनुभएको छ।
कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायको हकहित संरक्षण, व्यवसायिक प्रवद्र्धन र आपसी समन्वय मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।




