जनकपुरधाम - मधेश प्रदेश सभाको सभामुख पदका लागि सत्तारुढ सात दलीय गठबन्धन र नेकपा एमालेबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
सात दलीय गठबन्धनको तर्फबाट रामअशिष यादव र एमालेबाट त्रिलोकी प्रसादले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सात दलीय गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका रामअशिष यादवले प्रदेश सभा सचिवालयमा दिउँसो करिब १ बजे उम्मेदवारी दर्ता गराएका छन् । यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहेका छन् ।
उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले सर्वसम्मत रूपमा यादवलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । गठबन्धनले प्रदेश सभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित अनुभवी र संवाद गर्न सक्ने नेतालाई अघि सारेको जनाएको छ ।
गठबन्धनका एक नेताका अनुसार सभामुख पद संसद्को मर्यादा र निष्पक्ष भएकाले सबै दलसँग समन्वय गर्न सक्ने र संसदीय प्रक्रिया बुझ्ने व्यक्तिलाई उम्मेदवार बनाइएको हो ।
यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट त्रिलोकी प्रसादले दिउँसो करिब ३ बजे सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रसादको उम्मेदवारीमा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापा प्रस्तावक तथा जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन् ।
सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले संसदीय प्रक्रिया, विधि र विधानको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमताका आधारमा प्रसादलाई उम्मेदवार बनाइएको जनाएको छ ।
एमालेका एक नेताले भने, ‘सभामुख पद प्रदेश सभाको गरिमा, अनुशासन र निष्पक्षतासँग जोडिएको जिम्मेवारी भएकाले अनुभव र संसदीय अभ्यासको ज्ञान भएका व्यक्तिलाई अघि सारिएको हो ।’
यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि पद रिक्त रहँदा प्रदेश सभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको थियो । नयाँ सभामुख चयनसँगै प्रदेश सभाको कार्यसूची पुनः नियमित हुने विश्वास गरिएको छ ।
मधेश प्रदेश राजनीतिमा अनुभवी मानिने रामअशिष यादवले यसअघि प्रमुख सचेतकका रूपमा विभिन्न विधेयक, प्रस्ताव र संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेश सभामा सात दलीय गठबन्धनको स्पष्ट बहुमत रहेकाले यादवको निर्वाचन लगभग सुनिश्चित देखिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार निर्धारित कार्यतालिकाअनुसार उम्मेदवारी दर्तापछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढाइनेछ ।




