काठमाडौँ — “हामी सबैको खेल, हामी सबैको दायित्व” भन्ने नारासहित त्रिभुवन विश्वविद्यालय रङ्गशाला आसपासमा आज वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

खेलप्रेमी जयकृष्ण महतोको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम Awake Nepal नामक गैरनाफामूलक संस्थाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा रिभोलुशन एजुकेसन र बोल्टस बटालियन सह–आयोजकका रूपमा रहेका थिए। साथै ब्लड फर नेपाल, कीर्तिपुर नगरपालिका, नेपाल प्रहरी तथा त्रिभुवन विश्वविद्यालय रुटिन अफ कीर्तिपुरको सहकार्य रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य रहनुभएको थियो। विशिष्ट अतिथिमा त्रिभुवन विश्वविद्यालयका प्रधानाध्यापक अकल मिश्र, कीर्तिपुर प्रहरी वृत्तका डिएसपी शिवकुमार बुढाथोकी, प्राइम टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला र पूर्व प्रमुख सैनानी विशेष पौडेल सहभागी रहनुभएको थियो।कार्यक्रमको सुरुआत बोल्टस बटालियन संस्थाको लोगो अनावरण तथा सरसफाइ अभियानबाट गरिएको थियो। सो अवसरमा खेलप्रेमी युवा नवीन साहले खेल, शिक्षा, स्वास्थ्य र राष्ट्रहितका क्षेत्रमा निरन्तर सक्रिय रहने संकल्प गरिएको जानकारी दिनुभयो।

सरसफाइका क्रममा १०० भन्दा बढी झोलामा फोहर संकलन गरी एक गाडी फोहर व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। रङ्गशाला परिसरमा रक्सी तथा बियरका बोतल, गुटखाका खोल, प्याकेट फुडका अवशेष र ठूलो परिमाणमा प्रयोग गरिएका सुईहरू फेला परेको बताइएको छ।संवेदनशील क्षेत्र मानिने विश्वविद्यालय परिसरमा यस्ता गतिविधि बढ्दै जानु चिन्ताजनक भएको उल्लेख गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण आवश्यक रहेको सहभागीहरूले बताएका छन्। साथै खेलकुद कार्यक्रमका बेला राखिने स्टलहरूबाट निस्कने खाना तथा प्रयोग गरिएका प्लेटलगायत फोहर उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।










