सुजाता राई
काठमाडौं। यस बर्षको शुभद्रा विश्वराज स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानद्धारा युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको छ ।
नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्याए बापत रु.२१हजार १ सय ११ रुपैयाँ नगद राशीको शुभद्रा विश्वराज स्रष्टा सम्मान पोखरेललाई तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्याए वापत युवा साहित्यकार पन्थीलाई नगद राशी १५ हजार एक रुपैयाँको प्रसिद्ध कँडेल राष्ट्रिय युवा पुरस्कार प्रदान गरिएको हो । नगदराशी तथा प्रमाणपत्र प्रमुख अतिथि लगायतले समर्पण गरे ।
नेपाल स्रष्टा समाजले आफ्नो १९ औं स्थापना दिवसको अबसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह फेसबुकको करामत र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह अतृप्त रहरहरुको लोकार्पण समेत गरेको छ ।

राजधानीमा आज आयोजित भव्य समारोहमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी,श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,भागिरथी श्रेष्ठ,हिरण्यकुमारी पाठक,विधान आचार्य, चेतनाथ कँडेलहरित तथा स्रष्टाद्धय लगायतले लोकार्पण गरे ।
प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.सुवेदीले आफ्नो मन्तव्य राख्दै भने राज्यको निकायले भन्दा नीजिस्तरबाट साहित्य धानिएको अबस्था छ । यसमा नेपाल स्रष्टा समाज धन्यवादको पात्र छ । उनले सम्मानित स्रष्टा र नयाँ कृतिका स्रष्टाहरुलाई बधाई दिए ।
लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले चर्चा गरे । उनले कथा कृति फेसबुकको करामतमाथि चर्चा गर्दै भने प्राय प्रेमकथा समेटिएको सङ्ग्रहमा सामाजिक विसङ्गतिका कथा छन् । सबैजसो कथाहरु प्रथम पुरुषदृष्टिविन्दु र तृतिय पूरुषदृष्टिविन्दुमा लेखिएका छन् । कुनै कुनै कथाहरु डायस्पोरा साहित्यका पनि देखिन्छन् ।
यस्तै मुक्तकसङ्ग्रहमाथि चर्चा गर्दै प्रा.डा.कार्कीले प्रेम,विछोड,समाजका विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य र तिप्रतिको आक्रोश मिसिएका मुक्तकहरु भएको बताए ।कलात्मक र बिम्बात्मक पक्ष बलियो भएर मुक्तकहरु आएका छन् । उनले भने ।
कार्यक्रममा समाजका संरक्षकब वरिष्ठ साहित्यकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै १९ औं स्थापना दिवसको अबसरमा समाजमा विगतमा योगदान गर्नेहरुलाई स्मरण गरे ।
सम्मान यस्तो होस जुन सम्मान अर्पण गरेपछि संस्थापनि सम्मानित होस भन्ने कुरामा हामी सचेत छौं ।
कार्यक्रममा सभाध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने । सम्मान र पुरस्कारका विभिन्न विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।
पुरस्कृत स्रष्टा पोखरेलले छन्द कविता सुनाउँदै पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरे । अर्का सम्मानित स्रष्टा पन्थीले आफु सम्मान हुन पाउँदा खुशी हुँदै साहित्यमा अझै केही गर्ने जिम्मेवारी थपिएको बताइन ।
कार्यक्रममा पुरस्कारका संस्थापक मध्येबाट विधान आचार्य तथा चेतनाथ कँडेल हरितले मन्तव्य व्यक्त गरे ।
शुभद्रा विश्वराज स्रष्टा सम्मान वि.सं.२०७४ मा विधान आचार्यले स्थापना गरेका हुन् । भने प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले वि.सं.२०७४ सालमा स्थापना गरेका हुन् ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो ।
समाजका अध्यक्ष श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधु पाठकको सञ्चालन तथा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आएको छ ।




