महोत्तरी - सूर्या डर्मा एण्ड कस्मेटिक क्लिनिक, अस्पताल रोड, जनकपुरधाम र जलेश्वर नगरपालिकाको संयुक्त आयोजनामा जलेश्वर नगरपालिका–७ महादेवपट्टीस्थित आधारभूत विद्यालयमा छाला रोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पौष १९ गते शनिबार आयोजित शिविरमा छाला रोगका विभिन्न समस्या भएका २१० जना बिरामीले विशेषज्ञ सेवा लिएका छन्। शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिइनुका साथै निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरमा सेवा प्रदान गर्नुभएका जनकपुर प्रादेशिक अस्पतालका छाला रोग विशेषज्ञ डा. जितेन्द्र यादवले छाला रोगलाई सामान्य रूपमा बेवास्ता गर्दा गम्भीर जटिलता देखिन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो,छाला रोग समयमै पहिचान र उपचार गर्न सके दीर्घकालीन समस्या तथा खर्चिलो उपचारबाट जोगिन सकिन्छ। ग्रामीण भेगमा चेतनाको अभाव र आर्थिक कमजोरीका कारण धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन्, त्यसैले यस्ता निःशुल्क शिविर सर्वसाधारणका लागि अत्यन्त आवश्यक र प्रभावकारी हुन्छन्।

जलेश्वर नगरपालिकाको कार्यालयका अनुसार स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरले आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ। नगरपालिकाले आगामी दिनमा पनि जनस्वास्थ्य प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
शिविरको सफल आयोजनामा जलेश्वर नगरपालिकाको कार्यालय, स्वास्थ्य शाखा तथा स्थानीय समाजसेवी रामजी सदाको महत्वपूर्ण सहयोग रहेको थियो। साथै सुमित यादव, रामकुमार यादव, रामललित राउत र रोशन शाहले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो।
त्यस्तै डा. लभ ठाकुर, भोगेन्द्र ठाकुर, दिपेन्द्र यादव, राजीव चौधरी, रामप्रताप सदा, सरोज सदा, दिपक पासवान, इनार पासवान, निकेश यादव र गौतम राज शर्मालगायतले शिविर सञ्चालनमा उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ।




