महोत्तरी- आगामी फागुन २१ गते हुने आसन निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा समाजसेवी प्रमोद कुमार महतो सम्भावित उम्मेदवार बनेका छन्।
महतोले स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाई चुनावी मैदानमा उत्रिने बताएका छन्। उनले यी विषय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए।
उनले अन्य दलका उम्मेदवारहरूले विकास कार्यक्रमलाई मात्र चुनावी एजेन्डामा सीमित राखेको आरोप लगाउँदै भने, “विकास जनताको जीवनस्तर सुधारका लागि हुनुपर्छ।महतोले देशमा भ्रष्टाचार, कालाबजारी, बेरोजगारी र राजनीतिक अस्थिरताको प्रत्यक्ष असर आम नागरिकमा परेको बताए। उनले जनताले बेरोजगारी, महँगी र असुरक्षाबाट प्रभावित रहेको उल्लेख गरे।
वर्तमान परिस्थितिमा देशलाई सही दिशामा अघि बढाउन युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै महतोले परिवर्तन, सुशासन र जवाफदेहिताका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
देशको अर्थतन्त्र सीमित व्यापारी र भ्रष्ट नेतृत्वको प्रभावमा परेको आरोप लगाउँदै उनले इमानदार र सक्षम नेतृत्वको आवश्यकता औँल्याए। रास्वपा युवा र योग्य नेतृत्वलाई अघि ल्याउन प्रतिबद्ध रहेको बताए।
महतोले आफू हालसम्म सम्भावित उम्मेदवार रहेको र टिकट पाएपछि जनताको विश्वास जित्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




