अभिमनु कुमार पटेल,रौतहट -रौतहट जिल्लाको परोहा नगरपालिका र राजपुर नगरपालिकाको संयुक्त वडा अन्तर्गत पर्ने पोखरीया दमार टोलस्थित हुलाकी राजमार्ग सडक गम्भीर अतिक्रमणको चपेटामा परेको छ।

दुबै तर्फबाट सडक पेटी अतिक्रमण गरी पुरै बाटोलाई साँघुरो बनाइएको हुँदा उक्त क्षेत्र हाल अत्यन्तै दुर्घटनाग्रस्त बन्दै गएको स्थानीयहरूको गुनासो छ।

राजमार्गको दायाँ-बायाँ निजी जग्गा जस्तै गरी पराल, दाउरा, गाडी, बालुवा, गिट्टी, इँटा, माटो थुपार्नुका साथै कतिपय स्थानमा त घर नै निर्माण गरी सडक कब्जा गरिएको छ। हुलाकी राजमार्गजस्तो महत्वपूर्ण राष्ट्रिय सडक यसरी अतिक्रमणमा पर्दा यहाँबाट आवतजावत गर्ने सवारीसाधनको चाप अत्यधिक बढेको छ भने पैदलयात्रीहरूको जीवन समेत जोखिममा परेको छ।

स्थानीयवासीका अनुसार उक्त क्षेत्र पहिले नै ‘अति दुर्घटनाग्रस्त क्षेत्र’को रूपमा चिनिँदै आए पनि परोहा नगरपालिकाका मेयर शेख वकिल र राजपुर नगरपालिकाका मेयर राजीक आलमले सडक अतिक्रमण हटाउने विषयमा कुनै ठोस कदम चाल्न सकेका छैनन्। जनगुनासो अनुसार अतिक्रमणकारीहरू आफ्नै भोट बैंक भएकै कारण दुवै मेयर सडक व्यवस्थापनमा असफल देखिएका छन्।

स्थानीयहरूले प्रश्न उठाएका छन् सडक नै कब्जा भएको ठाउँमा भोलि कुनै ठुलो अप्रिय दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने ?हुलाकी राजमार्गजस्तो राष्ट्रिय महत्वको सडकमा स्थानीयको लापरबाही र जनप्रतिनिधिको राजनीतिक स्वार्थका कारण अतिक्रमण खुल्लम खुल्ला भइरहँदा सम्बन्धित निकायको मौनताले झनै चिन्ता बढाएको छ।नागरिकहरू तत्काल सडक अतिक्रमण हटाई वास्तविक अर्थमा हुलाकी राजमार्ग भएको अनुभूति गराउन स्थानीय सरकार, जिल्ला प्रशासन र सडक विभागको ध्यानाकर्षण गराउँदै आएका छन्।

तर अहिलेसम्म दुबै नगरपालिकाका मेयरहरू भोटको राजनीतिमा अल्झिँदा यहाँको सडक व्यवस्थापन कागजमै सीमित भएको आरोप स्थानीयहरूको छ। यदि समयमै अतिक्रमण हटाइएन भने भविष्यमा हुने ठुलो दुर्घटनाले जनधनको क्षति मात्र होइन, सम्बन्धित जनप्रतिनिधि र निकायमाथि गम्भीर प्रश्न खडा गर्ने निश्चित देखिन्छ।





