सुजाता राई
मोरङ । एलिट क्लब विराटनगरको आयोजनामा “पूर्वीय दर्शन र किराँत दर्शनको सृष्टि–सिद्धान्तको तुलनात्मक अध्ययन” शीर्षकमा आधारित पुस्तक परिचर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ।



कार्यक्रम लेखक क्षितिराज लुम्सालीद्वारा लिखित उक्त पुस्तक केन्द्रित रहेको थियो। कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

माननीय खापुङले पूर्वीय तथा किराँत दर्शनले समाजलाई सहअस्तित्व, प्रकृति–मैत्री जीवन र मौलिक चिन्तनतर्फ डोर्याउने बताए। यस्ता कृतिले भावी पुस्तालाई आफ्नै दर्शन बुझ्न सहयोग पुग्ने उनको भनाइ राख्दै उपस्थित सम्पुर्णलाई धन्यवाद एवम् शुभकामना दिए।

एलिट क्लबका महासचिव यज्ञप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सदस्य सोमराज थापाले सम्हाले। कार्यक्रममा क्लबका अर्थ–सचिव मणि अर्यालले स्वागत मन्तव्य व्यक्त गरे।
परिचर्चाकारका रूपमा डा. बाबुराम तिम्सिना, श्री भोलाकाजी राई तथा श्री दशरथ रुम्दाली (किराँत राई चायोख्खा) ले पुस्तकको विषयवस्तु, दार्शनिक दृष्टिकोण र समसामयिक महत्वबारे गहन विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पुस्तकले पूर्वीय र किराँत दर्शनबीचको सृष्टिसम्बन्धी अवधारणालाई तुलनात्मक रूपमा स्पष्ट रूपमा उजागर गरेको बताए।




