जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारीको टिकट लिएका छन्। पार्टी सभापति रवि लामिछाने मार्फत बालेनले जनकपुरमा टिकट प्राप्त गरेका हुन्।
रास्वपाको चुनावी सभाका लागि सभापति लामिछाने र वरिष्ठ नेता बालेन दुवै जनकपुर पुगेका बेला टिकट हस्तान्तरण गरिएको पार्टी स्रोतले जनाएको छ। यससँगै झापा–५ मा बालेनको उम्मेदवारी औपचारिक रूपमा निश्चित भएको छ।
झापा–५ लाई नेपाली राजनीतिमा अत्यन्तै चासोको निर्वाचन क्षेत्रका रूपमा हेरिँदै आएको छ। यस क्षेत्रबाट लामो समयदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन्। बालेन र ओलीबीच हुने प्रतिस्पर्धालाई पुराना र नयाँ राजनीतिक धारबीचको टक्करका रूपमा विश्लेषण गरिएको छ।
रास्वपाले बालेनलाई झापा–५ मा अघि सार्नुको कारण नयाँ राजनीतिक विकल्पको सन्देश दिनु र स्थापित नेतृत्वलाई चुनौती दिनु रहेको पार्टी नेताहरूको भनाइ छ। बालेन हालसम्म स्पष्ट र आलोचनात्मक अभिव्यक्तिका कारण युवामाझ लोकप्रिय रहँदै आएका छन्।
जनकपुरको सभामा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै मधेश, सुशासन, रोजगारी र राजनीतिक सुधारका विषयलाई जोड दिएका थिए। उनले राजनीतिमा नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफू परिवर्तनको प्रतिनिधि बनेर चुनावी मैदानमा उत्रिएको बताए।
यता, रास्वपाले झापा–५ लाई प्रतिष्ठाको निर्वाचन क्षेत्रका रूपमा लिएर आक्रामक चुनावी रणनीति बनाइरहेको जनाएको छ। टिकट वितरणसँगै बालेन छिट्टै झापा पुगेर मतदाता भेटघाट र चुनावी अभियान सुरु गर्ने तयारीमा छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा हुने यो प्रतिस्पर्धा राष्ट्रिय राजनीतिमा विशेष चासोका साथ हेरिने भएको छ।





