महोत्तरी — नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा एकल सिफारिस भएका पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएनन् ।
आफ्नो निर्वाचन क्षेत्रका जनताको सुझावलाई सम्मान गर्दै यादवले स्वेच्छिक रूपमा उम्मेदवारी नदिई निलम अधिकारीलाई अगाडि सारेका हुन् । यादवका अनुसार जनताले आफूलाई पाँच वर्षका लागि निर्वाचित गरी पठाएकाले अधुरा काम पहिले सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए । शिरीष न्युजसँग कुरा गर्दै यादवले भने, “जनताले हामीले तपाईंलाई पाँच वर्षका लागि जिताएर पठाएका छौँ, अधुरा काम पहिले पूरा गर्नुस् भन्ने सुझाव दिएका छन् ।
जनताको यही भावना र क्षेत्रीय सल्लाहलाई सम्मान गर्दै मैले स्वेच्छिक रूपमा उम्मेदवारी नदिएको हुँ ।
यादवले जनताको भावनाको कदर गर्दै महोत्तरी क्षेत्र नम्बर ४ बाट निलम अधिकारीलाई एमालेको तर्फबाट उम्मेदवारका रूपमा अगाडि सारेको जानकारी दिए ।
सोहीअनुसार एमालेबाट उक्त क्षेत्रमा अधिकारीको उम्मेदवारी दर्ता गराइएको छ ।





