जीवनराज दाहाल
बर्दिवास । बर्दिवासस्थित विनायक व्याङ्कुट, सिन्धुली रोडमा शुक्रबार पदम शम्सेर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । प्रतिष्ठानले २०८२ सालका लागि पहिलो र दोस्रो चरणको परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको शुल्क विवरणसहित अभिभावकसँग उपस्थित रहेर छात्रवृत्ति प्राप्त गरेका थिए । यस वर्ष २४ जना विद्यार्थीले बैंक चेक मार्फत छात्रवृत्ति प्राप्त गरे ।
कार्यक्रम कुमार घिमिरेले सञ्चालन गरेका थिए । प्रमुख अतिथिमा बर्दिवास नगरपालिका शिक्षा शाखाका प्रमुख रेवती पराजुली थिए भने प्रतिष्ठानका सदस्य दीपक बराल पनि उपस्थित थिए । साथै, पत्रकारहरू गोपाल बराल, विशाल बराल, डा. अजय साह, आशा तोलाङे, रोशन कुमार महत र मिथलेस सिंह पनि कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमको प्रमुख वक्ता, प्रतिष्ठानका अध्यक्ष बिष्णु खड्काले आफ्नो विगतको संघर्ष र पारिवारिक प्रेरणाबाट प्रतिष्ठान स्थापना भएको कथा सुनाउँदै विद्यार्थीहरूलाई मार्गदर्शन गरे । अध्यक्ष खड्काले बताएअनुसार, आर्थिक अभावका कारण उनले एसएलसी पछि एक वर्षसम्म पढ्न पाएनन् र उच्च शिक्षाका लागि जनकपुर वा काठमाडौँ जाने खर्च जुटाउन कठिनाइ भएको थियो । उनका बुबाआमाले "भोलि कमायौ भने आफू जस्तै गरिब र जेहेनदार विद्यार्थीलाई सहयोग गर" भनी दिनुभएको प्रेरणाले २०७७ सालदेखि प्रतिष्ठानमार्फत सेवा सुरु भएको हो ।
अध्यक्ष खड्काले विद्यालय र छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको पारदर्शी छनोट प्रक्रियाबारे प्रकाश पार्दै भने कि प्रतिष्ठानले घर–घर पुगेर, छिमेकीहरूसँग सोधपुछ गरेर मात्र वास्तविक आर्थिक र शैक्षिक अवस्था बुझेर छात्रवृत्ति वितरण गर्दै आएको छ । हालसम्म ५७ जना विद्यार्थीले लाभ लिइसकेका छन् भने यस वर्ष २४ जना नयाँ विद्यार्थी थपिएका छन् । यसपटक आर्थिक अवस्था कमजोरका विद्यार्थी मात्र नभई उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।
अध्यक्ष खड्काले विद्यार्थीहरूलाई अनुशासन र पढाइमा गम्भीर हुन जोड दिँदै भनेका छन्, "यो रकम अत्यन्तै मेहनतले कमाइएको हो, त्यसैले यसको सदुपयोग अनिवार्य छ । यदि कुनै विद्यार्थी अनुशासनहीन भए वा पढाइ छाडेमा लगानी अभिभावकबाट फिर्ता लिइने छ ।"
उनले भविष्यमा पनि प्रतिष्ठान जेहेनदार विद्यार्थीहरूको सहयोगका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै, छात्रवृत्ति निरन्तरता प्राप्त गर्न विद्यालयको मार्कसिट हेरेर मात्र थप लगानी हुने जानकारी गराए । साथै, कुनै अन्याय वा समस्या परेमा प्रतिष्ठानको सदस्य वा फेसबुक पेजमार्फत जानकारी लिन आग्रह समेत गरे । कार्यक्रम सफलताको साथ सम्पन्न भएको थियो र विद्यार्थी तथा अभिभावकहरू उत्साहित देखिएका थिए ।




