सुजाता राई
विराटनगर। एलिट क्लबको सभा हलमा बिहीबार आयोजित अन्तरक्रिया काहर्यक्रममा तिमीले देख्यौ—वर्तमान राजनीतिक अवस्था, पुस्तान्तरण र जेन्जी (Gen Z) आन्दोलनको प्रभावबारे गम्भीर बहस भयो।



कार्यक्रमको अध्यक्षता श्री विश्वनाथ रिजालले गरेका थिए भने सञ्चालन महासचिव यज्ञ शर्माले गरेका थिए। प्रमुख विषय प्रस्तोता नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसाल रहेका थिए। कार्यक्रममा महेश रेग्मी (कोशी प्रदेश संयोजक), एलिट क्लबका पूर्व अध्यक्ष डा. भेष प्रसाद धमला, पूर्व महासचिव प्रा. कृष्ण पोखरेल, दिनेश श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रश्नकर्ताहरूमा प्रा. डा. मेदिनी शर्मा, देवी पन्थी, शिवनारायण सिङ्गल तथा जेन्जी अगुवा प्रवेश दाहाल लगायत सहभागी थिए।
मञ्चबाट उठेका प्रश्नहरूको जवाफ दिँदै भुसालले भने, “जेन्जी शब्द सजिलो संज्ञा भए पनि यसले नेपालको राजनीतिलाई मात्र होइन, सामाजिक संरचनालाई नै प्रश्न गरेको छ।” उनले वर्तमान अवस्थामा विचारभन्दा व्यक्ति बलियो बन्दै गएको, दलभन्दा व्यक्तिकेन्द्रित राजनीति हाबी भएको टिप्पणी गरे।
उनका अनुसार नेताहरूका आश्वासनबीच पनि जनता ऋण र बेरोजगारीको चपेटामा छन्। यही असन्तुष्टिले २२ र २४ गते जेन्जी युवाहरू सडक आन्दोलनमा उत्रिएको उनको विश्लेषण थियो। उनले पुरानो र नयाँ पुस्ताबीच सोच, शिक्षा र प्रविधि प्रयोगमा ठूलो अन्तर देखिएको पनि बताए, जसले समाज र राजनीतिमा नयाँ दबाब सिर्जना गरेको धारणा राखे।
कार्यक्रम बहस र जिज्ञासासहित सम्पन्न भएको थियो।




