अधुरो विकासलाई निष्कर्षमा पुर्याउँदै दीर्घकालीन विकासका नयाँ ढोका खोल्ने प्रतिबद्धता महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पोखरेलले क्षेत्र नं. १ का जनताको आधारभूत आवश्यकता र दीर्घकालीन विकासलाई सँगसँगै अघि बढाइने बताए। विशिष्ट परिस्थितिमा भइरहेको यो निर्वाचनले कानुन निर्माणको जिम्मेवारीलाई समेत अझ महत्वपूर्ण बनाएको उनको भनाइ छ।
स्थानीय तहलाई प्रतिनिधिसभासँग प्रभावकारी रूपमा जोड्दै विकासमा नयाँपन सिर्जना गर्नु आजको आवश्यकता भएको पोखरेलले जिकिर गरे। चुरेका प्रागैतिहासिक महत्वका सम्पदाको संरक्षण गर्दै रातु सभ्यतालाई जीवित राख्न सकिने तथा यस क्षेत्रलाई दक्षिण एसियाकै ठूलो पुरातात्विक अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने आधार रहेको उनले बताए।
‘यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराएर थप संरक्षण गर्दै पुरातात्विक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ,’ पोखरेलले भने, ‘यसलाई निष्कर्षमा पुर्याउने मेरो स्पष्ट संकल्प छ।’
गौशाला, भंगाहा र बर्दिवासको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्दै उनले विकासका क्रममा सामाजिक, सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। शिक्षा र स्वास्थ्य क्षेत्रमा थुप्रै काम भए पनि अझै आवश्यक पूर्वाधार निर्माण बाँकी रहेको उनले बताए।
आज बर्दिवासमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विगतका कामहरुले पनि जनताले यसपाली मुल्यांकन गर्ने बताएका छन् ।




