मनिका झा,जनकपुरधाम – मधेस प्रदेशसभा भवनको ठ्याकै पछाडि छ– मुसहर (दलित) टोल। ऐलानी जग्गामै केही कच्ची र केही पक्की घर छन्। मुसहर टोलमा न कुनै भौतिक विकास पुगेको छ। न त शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको अनुभूति नै गर्न पाएका छन्, यहाँका मुसहरहरूले। सधैं गरिबी, अशिक्षा र अभावले पिल्सिएका मुसहरहरूको भोट तान्न चुनावका बेला नेताहरू आइपुग्छन् तर चुनाव सकिएपछि अभाव, दुःख र पीडाको भार थाम्न कोही आउँदैनन्।
‘सबदिन एगो दुगो नेतासब चौक पर अबैहै, चुनाव होतै फगुवामे कहादुन। हमरासभके कोन मतलब कोई आए जाए हमरासभक दशा पुरने है।’



(आजभोलि सधैं एक दुई जना नेताहरू चोकमा आउँछन्, चुनाव हुन्छ रे फागुनमा। तर, हामीलाई के मतलब जो आए पनि हाम्रो दसा उही पुरानो छ।) बिहीबार घरमै भेटिएकी उसादेवी सदालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको चहलपहलले खासै प्रभावित गर्न सकेको छैन।
बस्तीमा एक घर छ, उसादेवी सदाको। उसाका चार छोरा छन्। सबैको बिहे भइसकेको छ। ९ जना नातिनातिनामध्ये कोही पनि विद्यालय जाँदैनन्। न त उनको परिवारमा कोही पढेलेखेका नै छन्। श्रीमान् विन्देश्वर सदा पनि बेरोजगार छन्। ठूलो छोरा मनोज गाडी चलाउँछन् र अन्य तीन छोराहरू पनि मजदुरी गरेर जीविकोपार्जन गर्छन्।
जनकपुरधाम उपमहानगरपालिका १२ मा पुस्तौंदेखि बस्दै आएकी उसाले तीनवटा चुनावमा भोट हालेको सम्झन्छिन्। तर, अब उनलाई भोट हाल्नु एक दिनको चहलपहल मात्रै हो जस्तो लागेको छ। यसले गरिब र विशेष गरी मुसहरबस्तीमा कुनै परिवर्तन ल्याउन नसकेको उसाको ठम्याइ छ। ‘योभन्दा पहिले पनि भोट दिएको थिएँ खै को जित्यो थाहा भएन। मेरो श्रीमान्ले जुन छापमा भन्नुभयो त्यसमै भोट हाले। पहिला पनि भोट हालेकै हो तर, यो भोट हालेको दिनपछि के हुन्छ खै ? हामी त मजदुरी गरेर खानेहरू पर्यौं। हाम्रा लागि न त कसैले कहिल्यै कुनै राहत ल्याइदिएका छन् न त कुनै सहयोग नै गरेका छन्।’ उसाका ४ जना बुहारी जेठी तुल्फी सदा, अनिता सदा, गुडिया सदा र सुनिता सदामध्ये कसैको पनि नागरिकता बनेको छैन। नत बालबच्चाहरूको जन्मदर्ता नै छ। बुहारीहरू सबैको माइतीघर जनकपुर नै हो। तर, पनि उनीहरूको नागरिकता हालसम्म बन्न सकेको छैन। नागरिकता नै नभएपछि उनीहरूले आफ्नो मतसमेत हाल्न पाउने अधिकारको प्रयोग गर्न पाएका छैनन्।
‘नागरिकता बनाउन एक दुईपटक सीडीओ अफिस गएको थिएँ तर, त्यहाँ सबै काम गराउन पैसा माग्छन्। हामीलाई लेखपढ गर्न आउँदैन। मेरो श्रीमान्लाई पनि आउँदैन। आफिसमा बिनापैसा त कसैले कुनै कामै गर्दैन। नागरिकता बनाउन तेत्रो पैसा कहाँबाट आउँछ ? यही हैरानी परेसानीले हालसम्म नागरिकता बनेन,’ उसाकी बुहारी गुडिया भन्छिन्, ‘भोट माग्न आउनेहरू पनि हाम्रो बस्तीभित्र छिर्दैनन्। टोलको बाहिरै पुरुषहरूसँग भेटेर जान्छन् । हामीलाई भेट्न आएको भए म भन्थे होला, जसले हाम्रो नागरिकता बनाई दिन्छ हामी त्यसलाई नै भोट दिन्छौं।’ टोलका अधिकांश बुहारी पुस्ता र छोरीहरूसँग नागरिकता छैन।
त्यसैकारण उनीहरूले मतदाता परिचयपत्र पनि बनाउन पाएका छैनन्। ‘यी चुनावसभ बरका लोकसभके बात है। हमरासभके देखनिहार कोईनै हई (यो चुनाव जस्ता कुराहरू ठूला मान्छेका हुन्। हामीलाई त हेर्न समेत कोई आउँदैन),’ नागरिकताविहीन तुल्फी सदा भन्छिन्, ‘हमरासभके बालबच्चासभके जन्मदर्तोनै बना दैहै। नत कहियो कोनो राहत भेटै है नत रोजगारी (हाम्रो छोराछोरीलाई त कसैले जन्मदर्ता समेत बनाई दिएको छैन। हामीले न त कहिल्यै कुनै राहत पाएका छौं न त रोजगारी नै।’
‘चुनावको बेला भोट माग्न आउने नेताहरू सडकबाट हात जोड्दै हिँड्ने गर्छन् र जितेपछि गाडीमा धुलो उडाउँदै हिँड्छन्। गरिबहरूलाई त्यही धुलो सहेर बस्नु बाहेक केही काम नै छैन,’ जनकपुरधाम उपमहानगरपालिका २५ लोहना घर भएकी ५५ वर्षीय अनुपिया सदा भन्छिन्, ‘पहिला पनि चुनाव आउँदा नेताहरू बरा मिठो बोली बोलेर हाम्रो मुसहरी छिर्ने गर्छन्। जितेपछि यो गर्छु, त्यो गर्छु भनेर भन्छन् तर, जितेर गएपछि केही हुँदैन। हाम्रो अवस्था झन्–झनै खराब भएको छ। मेरो त सरकारी कोटाबाट घर बनाइदिन्छु भनेर सबै लेखेर लगेका थिए, तर, केही दिएनन्। भएको घर पनि उजाडेर अहिले हामी छाप्रोमा बस्न बाध्य भएका छौं। यस्ता नेताहरूलाई किन भोट दिने ? ’
‘दलितका लागि बनेका कानुन र संविधानमा भएको व्यवस्थानै विभेदकारी छ,’ दलित अधिकारकर्मी विनोद महरा भन्छन्, ‘दलित समुदाय सधैं पछाडि पर्नुको कारण हो, यस समुदायबाट नेता जन्मिन नसक्नु नै हो। नेतानै नभएपछि मुसहर, चमार, डोम, हलखोर, मेस्तर लगायतका अति विपन्न र दलित वर्गको आवाज मूलधारमा कसले ल्याइदिने हो। उनीहरूको भोट मात्रै प्रयोग हुँदै आएको छ।’ धनुषा– ३ निर्वाचन क्षेत्रमा पर्ने यी बस्तीहरूकै भोटबाट जितेका नेताहरू पटक पटक मन्त्री बने। ०७४ सालमा तत्कालीन राजपाका राजेन्द्र महतोले चुनाव जिते। त्यसअघि काँग्रेसले लगातार जित्ने गरेको थियो।
०४८ मा महेन्द्रनारायण निधिले जितेको यो क्षेत्र निधिको निधनपछि छोरा विमलेन्द्र निधिको गढ बन्यो। ०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभामा निधि यसै क्षेत्रबाट विजयी भए। पार्टी र सरकारको नीति निर्माण तहमै निधि पुगे। निधिले गृह र शिक्षाजस्ता प्रभावशाली मन्त्रालयको नेतृत्व पनि सम्हाले।
०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी थिइन्। उनले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको पद सम्हालेकी थिइन्। तर, आफ्नो क्षेत्रका मुसहर र दलितहरूको उत्थान तथा विकासका लागि खासै काम गर्न सकेकी छैनन्। हाल, यस क्षेत्रबाट कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, एमालेकी जुली महतो, रास्वपाका मनिष झालगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।-अन्नपूर्ण पोस्ट




