महोत्तरी – महोत्तरीको वरिष्ठ पत्रकार वैद्यनाथ चौधरीको निधन भएको छ । उहाँको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको हो ।महोत्तरीको पिपरा गाउँपालिका-७ बनौली निवासी उहाँको मिति २०८२ माघ २५ गते आईतवार बिहान ६७ बर्षको उमेरमा निधन भएको हो । उहाँ लामो समय देखि दम रोगबाट ग्रसित रहेको परिवारजनले जनाएको छ।
तीन दशक भन्दा बढी समय देखि सक्रिय पत्रकारितामा संलग्न रह्नुभएका चौधरी गोरखापत्रको पूर्व समाचार हुनुको साथै रेडियो विरगंज र लोकपुकार साप्ताहिक लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत रह्नु भएको थियो ।उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै आज आइतवार (माघ २५ गते) नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको कार्यालय बन्द गरिएको शाखा अध्यक्ष महेश दासले बताउनुभयो ।



नेपाल पत्रकार महासंघ महोत्तरी शाखा द्वारा जारी शोक विज्ञप्तीमा शाखाका सदस्य तथा अग्रज पत्रकार चौधरीको निधन भएको दु:खद व्यक्त जिल्लामा पत्रकारिताको विकास, पेशागत हकहितको संरक्षण तथा निष्पक्ष र उत्तरदायी पत्रकारिताको प्रवर्द्धनमा उहाँले पुऱ्याउनुभएको योगदान सधै स्मरणीय रहने जनाएको छ । विज्ञप्तीमा उल्लेख छ “उहाँको निधनसँगै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले एक अनुभवी, समर्पित र कर्मठ पत्रकार गुमाएको तथा उहाँको निधनले महासंघ तथा समग्र पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति पुगेको र उहाँको अभाव सधै खट्कि रहनेछ ।
महासंघ महोत्तरी शाखा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।”यसैबिच नेपाल प्रेस युनियन महोत्तरी शाखाले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । विज्ञप्तिमा स्वर्गीय चौधरीको निधनले महोत्तरीको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको तथा उहाँको निधनले युनियनसहित सम्पूर्ण पत्रकार जगत स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ ।
स्वर्गीय चौधरीका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । छोरा सुमित चौधरीका अनुसार उहाँको पार्थिव शरीर आज अपराह्न गाउँकै आर्यघाटमा दाहसंस्कार गरिने छ ।




