महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर पुगेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश केन्द्रित चुनावी यात्रामा रहेका साह जनकपुरबाट जलेश्वर हुँदै सिधै एकडारा पुगेर कुलदेवतालाई ढोगेका हुन्।
यसअघि जनकपुरबाट धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम तय गरिएको थियो। तर, सुरक्षा कारण देखाउँदै अन्तिम समयमा रुट परिवर्तन गरिएको रास्वपाले जनाएको छ। रुट परिवर्तनपछि साह जनकपुरबाट जलेश्वरको बाटो प्रयोग गर्दै सिधै एकडारा पुगेका थिए।




महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि पुग्दा साहले गाडीमै बसेर पार्टीको चुनाव चिह्न ‘घन्टी’ बजाउँदै मतदातालाई अभिवादन गरेका थिए। सो क्रममा उनले कुनै औपचारिक सम्बोधन भने गरेनन्। स्थानीय बासिन्दाले सडक छेउबाट हात हल्लाउँदै उनको भव्य स्वागत गरेका थिए।

त्यसपछि साह आफ्नो पुर्ख्यौली घर पुगेका थिए। घरमा पुगेर उनले कुलदेवतालाई ढोग्दै परम्परागत संस्कार पूरा गरेका थिए। एकडारा गाउँपालिका कार्यालयसमेत रहेको उक्त घरका दुई कोठा हाल साहकै परिवारले प्रयोग गर्दै आएको जनाइएको छ।
रास्वपाका महोत्तरी जिल्ला सभापति शुभम् कुमार यादवका अनुसार साह सम्सीको बाटो हुँदै गौशाला पुगेका थिए। त्यहाँबाट तय कार्यक्रमअनुसार उनी आजै बर्दिवास पुगेका छन्। यादवका अनुसार धनुषाको नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर पुग्ने पूर्वनिर्धारित रुट सुरक्षा कारणले रद्द गरिएको हो। यसै क्रममा बल्वा सरपल्लो पुग्ने कार्यक्रमसमेत स्थगित गरिएको छ।
जलेश्वर आइपुग्दा साहले जलेश्वरनाथ महादेवको मन्दिरअगाडि गाडीबाटै ढोग गर्दै धार्मिक आस्थाप्रति सम्मान प्रकट गरेका थिए। रास्वपाले मधेश प्रदेशमा चुनावी गतिविधि तीव्र बनाइरहेको सन्दर्भमा साहको महोत्तरी आगमनलाई पार्टीको चुनावी अभियानका रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी महोत्तरी क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको पक्षमा जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो यात्रा केन्द्रित रहेको बताइएको छ।




