महोत्तरी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान टोलीहरू मतदान केन्द्रतर्फ पुग्न थालेका छन्। आजै क्षेत्र नं. ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट तथा क्षेत्र नं. १, २ र ४ का सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट मतदान सामग्री बुझी मतदान अधिकृतसहितका टोलीहरू तोकिएका केन्द्रतर्फ प्रस्थान गरेका हुन्।
जिल्लामा रहेका कुल २५८ मतदान स्थलअन्तर्गत ५३६ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन ५३६ मतदान अधिकृत, ५३६ सहायक मतदान अधिकृत, एक हजार ६०८ सहायक कर्मचारी र ५३६ कार्यालय सहयोगी खटाइएको छ। साथै, स्थायी मतदान केन्द्रबाहेक थप तीन सहायक मतदान केन्द्रमा ३ मतदान अधिकृत, ३ सहायक मतदान अधिकृत र ३ कार्यालय सहयोगी परिचालन गरिएको छ।



सबै स्थायी तथा अस्थायी मतदान केन्द्रमा मतदान टोलीसँगै निर्वाचन प्रहरीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान केन्द्रको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई दिइएको छ भने बाहिरी सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। त्यसैगरी नेपाली सेनाले गस्तीमार्फत समग्र सुरक्षा व्यवस्थामा सहयोग गर्ने जनाइएको छ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा ५६ दलका र ८३ स्वतन्त्र गरी कुल १३९ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। तीमध्ये १९ महिला र १२० पुरुष उम्मेदवार छन्।
महोत्तरीमा महिला मतदाता एक लाख ९६ हजार ९७, पुरुष मतदाता दुई लाख ३५ हजार १८३ र अन्य दुई गरी कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन्।




